नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा शनिबारका लागि निर्धारित मतदान कार्यक्रम आजलाई सारिएको छ ।
सहमतिका लागि शनिबार दिनभर प्रयास गर्दा सफल नभएपछि साँझ मतदान गर्ने तयारी थियो । तर सुरक्षाको कारण देखाउँदै आज बिहानका लागि सारिएको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।
आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदान हुने कार्यतालिका तय गरिएको छ ।
एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाले उम्मेदवारी दिएका छन् । गुलाबजंग र मीनबहादुरले प्यानल नै बनाएर चुनावमा भिड्दै छन् भने प्रकाशको प्यानल छैन ।
शाह स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहका हुन् भने शाही गोरख बोगटी समूहका हुन् ।