☰ open Loading... 26 July 2024|  

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र सचिव मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पश्चिम नेपाल   | १५ आश्विन २०८०, सोमबार १४:३२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्र्रबन्ध निर्देशक सुनिल पौडेल र उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा पौडेल र मरासिनी सहितका अधिकारीले भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरु निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायकलाई प्रतिवादी कायम गरेको छ ।

सुचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र अर्थ मन्त्रालयको बजेट महाशाखाका तत्कालीन सहसचिव मधुकुमार मरासिनी समेतले पूर्वाधार नै तयार नगरी २३ करोड २७ लाख ५८ हजार ७७ मा ‘नेशनल पेमेन्ट गेटवे’ खरिद गरेका थिए । ६ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटवे (एनपिजी) अहिलेसम्म प्रयोगमा आएको छैन ।

नीति तथा कार्यक्रमममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको ‘नेशनल पेमेन्ट गेटवे’ खरिद शीर्षकमा मरासिनीले माथिल्लो अधिकारीलाई जानकारी नै नदिई २५ करोड निकाशा दिएको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालिन सचिव सञ्जय शर्मा सहितका ७ जना मिलेर आर्थिक वर्ष २०७४/०७५ मा गेटवे पेमेन्टको भुक्तानी गरेका थिए । अख्तियारले आरोपीतहरुसँग २३ करोड २७ लाख ५८ हजार बिगो मागदावी लिएको छ ।