☰ open Loading... 17 May 2024|  

चाडबाड लक्षित सहुलियत पसल आजदेखि सञ्चालन हुँदै
पश्चिम नेपाल   | २१ आश्विन २०८०, आईतवार ०८:१४

 

दैलेख ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेखले दसैँ, तिहार, छठलगायत ठुला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले आइतबार (आजदेखि) सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने शाखा कार्यालयका निमित्त कार्यालय प्रमुख रवीन रेग्मीले बताए ।

आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याइएको रेग्मीको भनाई छ । सुपथ मूल्य पसल पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ ।

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सुपथ मूल्य पसल कात्तिक ३ गतेसम्म सञ्चालन हुने निमित्त कार्यालय प्रमुख रेग्मीले जानकारी दिए ।

सुपथ मूल्य पसलबाट सोना मन्सुली चामल नागरिकले साबिक मूल्य भन्दा प्रति किलो सात रुपैयाँ छुटमा पाउने छन् । सोना मन्सुली चामल साबिकमा प्रति किलो ५८ रुपैयाँमा बिक्री हुँदै आएको थियो भने सुपथ मूल्य पसलबाट प्रति किलो ५१ रुपैयाँमा उपलब्ध हुने छ ।

स्टिम जिरा मसिनो चामल नागरिकले प्रति किलो ८५ रुपैयाँमा पाउने छन् । उत् चामलको साबिक मूल्य ९२ रुपैयाँ रहेको छ । यस्तै, सुपथ मूल्य पसलबाट अरुवा मध्यम चामल नागरिकले प्रति किलो ५१ रुपैयाँमा पाउने छन् । अरुवा मध्यम चामल साबिकमा प्रति किलो ५८ रुपैयाँमा बिक्री हुँदै आएको थियो ।
दैलेखमा सुपथ मूल्य पसल सञ्चालनका लागि पाँच सय क्वीन्टल कोटा खाद्यान्न रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेखका निमित्त कार्यालय प्रमुख रवीन रेग्मीले बताए । सुपथ मूल्य पसल सञ्चालन पछि दसैँ, तिहार, छठलगायत ठुला चाडपर्वमा नागरिकलाई राहत हुने भएको छ ।