☰ open Loading... 5 May 2024|  

धादिङ भूकम्प: ६ वटा कच्ची घरमा क्षती, एक ठाउँमा पहिरो
पश्चिम नेपाल   | ५ कार्तिक २०८०, आईतवार १३:२३

धादिङमा आइतबार बिहान गएको भूकम्पबाट ६ वटा कच्ची घरमा क्षती पुगेको छ। भूकम्पले ६ वटा कच्ची घरमा क्षती पुर्‍याएको र एक ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार भूकम्पका कारण ज्वालामुखि -५ भक्कि कुमालको कच्चि घरको पछाडि भागको भित्ता भत्किएको छ। सोहि ठाउँ बस्ने रमेश कुमालको बाँस र माटोले बनेको कच्ची ‍घरको पछाडिको भित्ता भत्किएकोछ।

त्यस्तै ज्वालामुखि-५ कै पुन्टे कुमालको घरको भित्ता चर्किएको,खाना पकाउने चिम्नि बाङ्गिएको छ। सोहि ठाउँ बस्ने प्रताप कुमालको ढुङ्गा माटोले बनेको कच्चि घरको चिम्नी बांङगिएको र भित्ता चर्केको छ।

भूकम्पका कारण ज्वालामुखी–७, चैनपुरबेँसीका ७३ वर्षीय बलबहादुर दनईको खाना पकाउने चिम्नी खसेको छ। ज्वालामुखी–१, माझीटारका मंगलसिंह माझीको गोठ भत्किएको र एउटा खसीको खुट्टा भाँच्चिएको छ।

ज्वालामुखी-५ बुङकोटघाट सिम्ले स्थितमा बालुवा भएको स्थानमा पहिरो गएको एसपी मिश्रले जानकारी दिए।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६।१ म्याग्निच्युडको भूकम्प गएको छ।