☰ open Loading... 18 May 2024|  

मुस्ताङबाट तेइस करोडको च्याङ्ग्रा निकासी
पश्चिम नेपाल   | ६ कार्तिक २०८०, सोमबार ०८:०९

मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ।

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५ च्याङग्रा निकासी भएको जानकारी दिए।

‘जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा तेइस करोड दुई लाख रुपैयाँ मूल्य बराबरको च्याङग्रा निकासी भएको छ।’

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उनले बताए। गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो।

प्रतिगोटा च्याङग्राको स्वास्थ्य परीक्षण गरेवापत पशु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुपर्छ। स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ। च्याङग्रा खरीद गर्न व्यापारीहरू मुस्ताङका कृषकको गोठमै पुगेका थिए।

कृषकले प्रतिगोटा ४० हजार रुपैयाँको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन्। गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडा-च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ।