☰ open Loading... 26 July 2024|  

टी-२० विश्वकप क्वालिफायर खेल्न सन्दीप ‘तयार’, अर्को पेशी २३ गते
पश्चिम नेपाल   | ९ कार्तिक २०८०, बिहीबार १९:००

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिता खेल्ने मनस्थिति बनाएका छन् । हाल जारी त्रिकोणात्मक टी-२० सिरिजमा अनुपस्थित सन्दीप नेपालका लागि महत्वपूर्ण प्रतियोगितामा उपलब्ध हुने भएका हुन् ।

अदालतमा जारी मुद्दाको फैसलामा ढिलाइ हुँदा तनावमा रहेका सन्दीपले त्रिकोणात्मक श्रृंखला नखेल्ने निर्णय लिएका थिए । प्रतियोगिताअघि उनले परिवारसँग समय बिताउन चाहेको भन्दै राष्ट्रिय टीमबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए । सन्दीपको अनुपस्थितमा त्रिकोणात्मक सिरिजमा नेपालको स्पिन आक्रमण केही फितलो बनिरहेको छ ।

क्रिकेटप्रेमी दर्शक एवं शुभचिन्तकको चाहनामा सन्दीप विश्वकप क्वालिफायर खेल्न तयार बनेको निकट स्रोतले बताएको छ । नेपालको टीमबाट अलग भएपछि घुमघाममा हिँडेका उनी अहिले काठमाडौं फर्किसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटका लागि टीम घोषणा गर्न बाँकी छ । अब घोषणा हुने स्क्वाडमा सम्भवतः सन्दीपले कमब्याक गर्नेछन् ।

भोलि नेपालले यूएईसँग त्रिकोणात्मक सिरिजको फाइनल खेल्दैछ । त्यसलगत्तै क्यानले क्वालिफायरका लागि टीम घोषणा गर्ने बुझिएको छ । सन्दीप अहिले क्यानको सम्पर्कमा नै छन् ।

यता, काठमाडौं जिल्ला अदालतमा विचाराधीन सन्दीपको मुद्दाको आगामी पेशी कार्तिक २३ गतेलाई तोकिएको छ । त्योभन्दा अगाडि नै विश्वकप छनोट प्रतियोगिता सम्पन्न भइसक्ने भएकाले सन्दीपको खेल प्रभावित हुनेछैन ।

टी-२० विश्वकपको आगामी संस्करण २०२४ को जूनमा अमेरिका र वेस्ट इन्डिजमा हुने भएको छ । त्यसका लागि एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा यही अक्टोबर ३० (सोमबार)बाट हुँदैछ । मूलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । ८ टीमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टीम विश्वकपका लागि छनोट हुनेछन् ।