☰ open Loading... 2 May 2024|  

मनाङमा ६ महिनामा ९ हजारभन्दा बढी पर्यटक
पश्चिम नेपाल   | १६ कार्तिक २०८०, बिहीबार २१:३४

हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ ।

यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेका एक्यापका प्रमुख ढकबहादुर भुजेलले बताए । उनका अनुसार आन्तरिक तथा बाह्य गरी नौ दुई सय २८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् भने पाँच सय २८ पर्यटकले नार्पाभूमिस्थित लार्केपास गरेका छन् । यस क्षेत्रबाट गोरखाको चुङनुम्री हुँदै पर्यटक गन्तव्यतर्फ निस्कने गर्दछन् ।

असोज मसान्तसम्ममा मात्रै चार हजार तीन सय ५७ बाह्य पर्यटक भित्रिएका छन् । भुजेलका अनुसार वैशाखमा तीन हजार दुई सय ६६, जेठमा छ सय ६१, असारमा दुई सय ५९, साउनमा दुई सय ९६, भदौमा नौ सय १३ बाह्य पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ । गतवर्षको साउनदेखि मङ्सिरसम्ममा एक हजार ७२ पर्यटक भित्रिएका उहाँले जानकारी दिए ।

गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रुपमा पर्यटक वृद्धि भएको प्रमुख भुजेलले बताए । ‘यहाँको मुख्य आयस्रोत नै पर्यटन क्षेत्र हो । पर्यटकको आगमन बिना यहाँको राजस्वसमेत उठ्न मुस्किल हुन्छ । यसले नै यहाँका स्थानीयवासीलाई यही बस्ने वातावरण बनाएको छ’, उनले भने । यहाँका स्थानीयवासी होटल तथा पर्यटन व्यवसायसँगै कृषि क्षेत्रमा आवद्ध रहेका छन् ।