☰ open Loading... 23 November 2024|  

रामेछापमा तारा एयरका दुई पाइलटबीच युनिफर्ममै कुटाकुट
पश्चिम नेपाल   | १७ कार्तिक २०८०, शुक्रबार ११:५४

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो ।

कुटाकुटको कारण भने नखुलेको रामेछाप विमानस्थल प्रमुख अशोक थापाजानकारी दिए । उनका अनुसार बिहान ८ बजे लुक्लाबाट आएको जहाजका क्याप्टेन सन्तोष साह र रामेछापबाट त्यो जहाज लिएर लुक्ला जाने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच झगडा परेको हो । प्राधिकरणका उपनिर्देशकका अनुसार, दुवै जना क्याप्टेनको ड्युटी अदलीबदलीको समय थियो । क्याप्टेन साह विमानस्थल भवनतर्फ आउँदै गर्दा अर्का क्याप्टेन श्रेष्ठ जहाजतर्फ जाँदै थिए । सन्तोष साहले हात मिलाउन खोज्दा सञ्जीवले धकेले । उनी लडेपछि दुई जनाले हानाहान गरे । घटनापछि क्याप्टेन साहले आफूलाई हातमा चोट लागेको र मन्थली बजारमा उपचार गर्न जान लागेको बताए ।

क्याप्टेन सञ्जीव श्रेष्ठ भने जहाज लिएर लुक्ला पुगेका छन् । उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ ।

घटनापछि प्राधिकरणले क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ ।