☰ open Loading... 19 September 2024|  

जाजरकोट र रुकुममा २ सय ४८ विद्यालय भत्किए
पश्चिम नेपाल   | २० कार्तिक २०८०, सोमबार २०:०६

भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) मा गरेर २ सय ४८ विद्यालय भत्किएका छन्। सोमबारसम्म संकलन भएको तथ्याङ्क अनुसार २ सय ४८ विद्यालय भवनमध्ये १ सय ६ विद्यालय भवन पूर्ण रुपमा क्षति भएको छ।

जाजरकोटमा पूर्ण क्षति भएका विद्यालयहरू भवन ९१ वटा, ३ सय ६६ वटा कक्षाकोठा, ४३ वटा शौचालय, ११ वटा कम्प्युटर कक्षा, १ वटा पुस्तकालय, ७ वटा घेरवार पर्खाल, ४ वटा सोलार सिस्टम रहेको छ।

त्यस्तै आंशिक क्षति भएका विद्यालय भवनहरु १ सय २२ वटा, ४ सय ७६ वटा कक्षा कोठा, ३५ वटा शौचालय रहेको शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका प्रमुख रमेश मल्लले बताए।

उनका अनुसार भूकम्पमा परि १ शिक्षक, ११ विद्यार्थीको मृत्यु भएको र २ शिक्षक र २० विद्यार्थी घाइते भएका छन्। सबै पालिकाबाट सोमबारसम्म संकलन भएर आएको तथ्याङ्कमा आधारित भएको समन्वय इकाई प्रमुख मल्लले बताए।

जाजरकोटस्थित बारेकोटे –२ लिम्सामा रहेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयमा ६ वटा भवनमध्ये ३ वटा भवन, शौचालय, खानेपानी आंशिकदेखि पूर्णरुपमा क्षति भएको प्रधानाध्यापक गोरख सिंहले बताए।

त्यस्तै रुकुम (पश्चिम) मा पूर्ण रुपमा १५ विद्यालय भवन भत्किएका छन्। आंशिक २० वटा भवन भत्किएको विवरण आएको र थप हुनसक्ने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तारा पुनले बताए।

उनका अनुसार रुकुम पश्चिममा १४ विद्यार्थीको मृत्यु भएको १ विद्यार्थी र १ शिक्षक घाइते भएका छन्।

‘विकट भूगोलका कारण विद्यालयको क्षतिको विवरण अझै आउन बाँकी छ। पुनले भने, सोमबारसम्म आएको विवरण सार्वजनिक गरेका छौं।’