☰ open Loading... 1 April 2025|  

राहत नपाएको भन्दै भूकम्प पीडितमा आक्रोश
पश्चिम नेपाल   | २१ कार्तिक २०८०, मंगलवार १४:०१

जाजरकोट भूकम्प पीडितहरूले राहत नपाएको भन्दै आक्रोशित बनेका छन्। भूकम्प गएको पाँचौदिनसम्म पनि राहत नपाएपछि भूकम्प प्रभावित परिवारले आक्रोश पोखेका हुन्।

जाजरकोटको भेरी नगरपालिका १ रिम्लेका भूकम्प प्रभावितले राहत वितरणमा ढिलाई तथा पक्षपात भएको भन्दै प्रदेश सरकारसमक्ष आक्रोश पोखेका छन्।

राहतसामग्री लिएर रिम्ले पुगेका कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण बहादुर जिसीलाई आफूहरूलाई राहत वितरणमा किन ढिलाई गरेको भन्दै स्थानीयले गुनासो गरे।

भूकम्प प्रभावितले पार्टीगत प्रभावितलाई मात्रै राहत वितरण गरेको समेत आरोप लगाउँदै मन्त्रीसमक्ष आक्रोश पोखेका छन्।

राहत वितरणमा पक्षपात किन गरियो भन्ने नागरिक न्युजको प्रश्नमा मन्त्री जिसीले भने, ‘कुनैपनि किसिमको पक्षपात भएको होइन। व्यक्तिगत वा पार्टीगत रुपमा हामीले राहत वितरण गरेका पनि होइनौं। प्रभावित धेरै छन्। जसमा केहीले पाए केहीले पाउन बाँकी छन्। आफूले नपाएपछि आक्रोश पोख्नु जायज हो। तर, राहत नपाउनेलाई पनि चाडै राहत वितरण गरिनेछ।’

मन्त्री जिसीले राहत वितरणका लागि एकद्वार प्रणाली अपनाइएको हुँदा पक्षपात गर्ने कुरा नै नभएको बताए।