☰ open Loading... 17 November 2024|  

भूकम्प प्रतिरोधी नमुना घर निर्माण सुरु
पश्चिम नेपाल   | २६ कार्तिक २०८०, आईतवार ०६:५९

भूकम्पले प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिका-६ फारुलामा भूकम्प प्रतिरोधी नमुना घर निर्माण सुरु भएको छ । भूकम्पले पूर्णरुपमा भत्किएका चार घर परिवारका लागि भूकम्प प्रतिरोधी घर नमुनाको रुपमा निर्माण कार्य अघि बढाइएको हो ।

नगरपालिकारका पूर्वमेयर विशाल शर्माको नेतृत्वमा चार घरको पुनःनिर्माण सुरु भएको हो । पहिलो चरणमा स्थानीय स्रोतसाधन परिचालन गरी चार घर नमुनाको रुपमा निर्माण गरिन लागिएको उनले बताए । ‘यो पुनःनिर्माण अभियानलाई नगरपालिकाभर संचालन गर्ने तयारी छ,’ उनले भने, ‘सरकारको मुख ताक्नुभन्दा स्थानीय स्रोतसाधन प्रयोग गरी भूकम्प प्रतिरोधी घर बनाउने अभियानको सुरु गरेका हौँ ।’

भूकम्प प्रभावितका लागि नमुना घर निर्माण अभियानमा माओवादी नगर कमिटी, वाईसीएल, स्थानीय व्यक्तिलाई जोडेको शर्माले बताए । ‘एउटा त्रिपाल वितरण गर्न तीनजना उभिनुभन्दा दीर्घकालीन हिसाबले बस्न मिल्ने घर बनाउनुपर्छ भनेर यो अभियान सुरु गरिएको हो,’ उनले भने, ‘यसमा अरु पार्टीले प्रत्येक वडामा यो अभियान सुरु गरे भूकम्पपीडित चिसोमा कठ्यांग्रिनु पर्दैन ।’

स्थानीय काठ, ढुंगा, बालुवाका साथै सिमेन्ट, जस्तापाता र छड प्रयोग गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्न लागिएको शर्माले बताए । ‘हामीले हरेक दिन ५० व्यक्ति सहभागी भएर काम थालेका छौँ,’ उनले भने ।

पहिलो चरणमा कालो कामी, कमल बिक, चन्द्री बोहरा र चन्द्रबहादुर बुढाथोकीको घर निर्माण सुरु भएको छ । यो अभियानलाई नगरपालिकाले पनि अघि बढाउने कार्यकारी अधिकृत शेरप्रसाद ढकालले बताए । ‘स्थानीय स्तरमा पनि पुनःनिर्माण अभियान चलाउने तयारी हुँदैछ,’ उनले भने, ‘किनभने चार हजार घर बस्नै नमिल्ने गरी क्षति पुगेकाले स्थानीय सहभागितालाई पुनर्निर्माणमा जोड्ने योजना बन्दैछ ।’ स्थानीय स्रोतसाधन प्रयोग गरेर अस्थायी बसोबास बनाउने तयारी भइरहेको हो ।