☰ open Loading... 23 December 2024|  

जसले हारको मुखमा पुगेको अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्‍याए
पश्चिम नेपाल   | २७ कार्तिक २०८०, सोमबार ०५:११



काठमाडौं । भनिन्छ क्रिकेट अनिश्चितताको खेल हो । मुम्बईको वानखेडे मैदानमा ७ नोभेम्बरका दिन भएको आईसीसी विश्वकपको ३९ औं खेलमा यस्तै भयो । अस्ट्रेलिया र अफगानिस्तानबीचको यो खेलमा कयौं कीर्तिमान तोडिए, जसमा अफगानिस्तान नाटकीय रुपमा ३ विकेटले पराजित भयो ।

हारको मुखमा पुगिसकेको अस्ट्रेलियालाई सेमिफाइनलसम्म पुर्‍याउन अकल्पनीय प्रदर्शन गर्दै दोहोरो शतक प्रहार गरेका ग्लेन म्याक्सवेल खेलका नायक बने ।

मुम्बईको वानखेडे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले इब्राहिम जद्रानको १ सय २९ रनको अविजित शतकको मद्दतमा निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९१ रन बनायो । २ सय ९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । सुन्दा सामान्य लागे पनि यो जित कुनै चमत्कारभन्दा कम थिएन । छैटौं नम्बरमा ग्लेन म्याक्सवेल ब्याटिङमा आउँदा अफगानिस्तान खेलमा पूर्ण हाबी थियो ।

यो बेला पूर्वच्याम्पियन अस्ट्रेलियाका लागि जित असम्भवजस्तै थियो । त्यसमा पनि म्याक्सवेल अजमातुल्लाह ओमरजाईको ह्याट्रिक बल सामना गर्न आएका थिए । पहिलो बलमै भएको एलबीडब्यू अपिलले अष्ट्रेलियन फ्यानहरुलाई झन् झस्कायो । तर उनलाई डीआरसले जोगायो । तै पनि अष्ट्रेलियाको विकेट पतनको सिलसिला भने रोकिएन । अष्ट्रेलिया १८ ओभर ३ बलमा ९१ रन जोड्दा ७ विकेट गुमाएको खराब अवस्थामा थियो, जसले गर्दा अफगानिस्तानले सहज जित हात पार्ने सबैको अनुमान थियो । ३३ बलमा उनले जीवनदान पाएका थिए । म्याक्सवेलको क्याच छोड्नु अफगानिस्तानका लागि महंगो सावित भयो । आठौं विकेटका लागि म्याक्सवेल र प्याट कमिन्सले २ सय २ रनको अविजित साझेदारी गर्दै अष्ट्रेलियालाई जित दिलाए । कुनै पनि बलिङ आक्रमणले रोक्न नसक्ने कुराको पुष्टि गर्दै म्याक्सवेलले १ सय २८ बलमा २ सय १ रनको अविजित इनिङ खेले र रन चेजमा दोहोरो शतक बनाउने पहिलो ब्याटर बने ।

वानखेडे मैदानमा दुवै टोलीले समग्रमा ९६ दशमलव ५ ओभर खेले, जसमध्ये ७८ ओभरसम्म अफगानिस्तान हावी भयो । तर अन्तिम २२ ओभरमा म्याक्सवेलले खेलमा कायापलट गरिदिए । अष्ट्रेलियाका लागि ६८ दशमलव ६० प्रतिशत रन उनी एक्लैले बनाए । यो अविश्वसनीय इनिङमा अफगानिस्तानको स्पिन आक्रमण र म्याक्सवेलको चोट बाधक बन्न सकेन । करिव १ सय रन प्रहार गरिसकेपछि उनको मेरुदण्ड र खुट्टामा समस्या आउन सुरु भएको थियो । त्यसैकारण उनी दुवै खुट्टामा राम्रोसँग उभिने र दौडिन सक्ने अवस्थामा समेत थिएनन् । फिजियोले मैदानमा आएर बारम्बार उनको उपचार गरिरहनु पर्यो । खेलको समयमा उनले बेलाबेला विश्राम लिन थाले । अफगानी खेलाडी र प्रशिक्षकले उनको विराध पनि गरे । तर पनि म्याक्सवेलले मैदान छाड्ने निर्णय लिएनन् । बरु एकै खुट्टामा उभिएर आक्रामक क्रिकेट खेल्न थाले ।

खेलपछि म्याक्सवेलले रक्षात्मक खेलेर आफ्नो विकेट गुमाउनुको सट्टा सकारात्मक र आक्रामक क्रिकेट खेलेको बताए । उनको यही सोच अष्ट्रेलियाको जितको कारक बन्यो ।

यस खेलमा म्याक्सवेललले धेरै कीर्तिमान बनाए । उनी एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो अष्ट्रेलियन र समग्रमा ९ औं ब्याट्सम्यान बने । उनी दोहोरो सतक जोड्ने पहिलो गैरओपनर ब्याट्सम्यान पनि हुन् । म्याक्सवेलले एकदिवसीय क्रिकेटको रन चेजमा सर्वाधिक रन बनाए ।

अष्ट्रेलियाका लागि उच्चतम् व्यक्तिगत स्कोर र विश्वकपमा सबैभन्दा छिटो दोहोरो शतकको कीर्तिमान म्याक्सवेलको नाममा बन्यो । म्याक्सवेल र कमिन्सले एकदिवसीय क्रिकेटमा आठौं विकेटका लागि सबैभन्दा ठूलो साझेदारी समेत गरे । २०१९ मा मानसिक स्वास्थ्य समस्याका कारण क्रिकेटबाट केही महिनाको ब्रेक लिएका म्याक्सवेलको यो इनिङ्सको विश्व क्रिकेटका धेरै दिग्गजहरुले खुलेर प्रशंसा गरेका छन् ।