☰ open Loading... 13 December 2024|  

सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १४ जनालाई प्रहरीले लियो नियन्त्रणमा
पश्चिम नेपाल   | २ मंसिर २०८०, शनिबार १३:५६

काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लप्सीफेदी क्षेत्रको सुरक्षाका लागि प्रहरी पोष्ट राख्ने सरकारको निर्णयअनुसार शुक्रबार साँझ प्रहरी पोष्ट स्थापना गर्न गएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका थिए। आक्रमणबाट केही प्रहरी घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)कुमोध ढुंगेलका अनुसार प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई शुक्रबार नै नियन्त्रणमा लिइएको थियो। आज थप १० जनालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले स्थानीय जयमान वाइबा, सूर्यमान तामाङ, सुकबहादुर वाइबा, हर्कबहादुर तामाङ, तुलाराम तामाङ, अशोक तामाङ, दिपक तामाङ, मानबहादुर तामाङ, राजमान तामाङ, अन्जु तामाङ, माइली तामाङ, सन्यमाया तामाङ, माया तामाङ र अञ्जी तामाङलाई नियन्त्रणमा लिएको एसपी ढुंगेलले जानकारी दिए।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ।

सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने सबस्टेसनका लागि ५० जना जग्गाधनीहरूको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ।

जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो। जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन्। मुआब्जा तथा क्षतिपूर्तिबापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ।

तर, राष्ट्रिय सीमान्तीकरणविरूद्ध अभियान (समान, नेपाल) नाममा सञ्जालको उक्साहटमा प्रभावित जग्गाधनीहरूभन्दा पनि असम्बन्धित व्यक्तिहरूले विगत तीन वर्षबाट सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन्। समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणले पटकपटक छलफल गरे पनि कुनै सहमति भएको छैन। मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नु पर्ने माग राख्दै समान, नेपालको ब्यानरमा त्यस क्षेत्रमा प्रदर्शन हुँदै आएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैरसरकारी संस्था र असम्बन्धित व्यक्तिहरूको उक्साहटका कारण सबस्टेसन निर्माणमा अवरोध भइरहेको बताए। सबस्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको घिसिङले बताए।

उनले लप्सीफेदीसम्म विद्युत् ल्याउन प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको र यदि सबस्टेसन निर्माण गर्न नसकिएमा उक्त विद्युत् प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिए।

सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरू भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ। नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ। लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन्। चाँगुनारायण १३२ केभी. सवस्टेसन सम्पन्न हुने चरणमा छ।

प्राधिकरणले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरिएको र उपलब्ध विकल्पहरूमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेकोले सबस्टेसन अन्यत्र सार्न नसकिने प्रष्ट पार्दै आएको छ।

जग्गाधनीहरूले छिटो मुआब्जा चाहियो भन्दै राजीखुसीले रकम बुझेका थिए।

नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’ मार्फत् प्रवाह भएको सहुलितपूर्ण ऋण सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो।

नयाँ खिम्ती–काठमाडौं ४०० केभी तथा लम्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन र चार वटा सबस्टेसनहरू गरी अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ छ।

लप्सीफेदी र चाँगुनारायण सबस्टेसन निर्माणका लागि पहिलो ठेक्का सम्झौता २८ मंसिर २०७४ (१४ डिसेम्बर२०१७) मा भएको थियो। ठेकेदारले लप्सीफेदी सबस्टेसन निर्माणका लागि एक वर्ष काम गरेको थियो। तर, ठेकेदारको काम सन्तोषजनक नभएपछि ठेक्का तोडेर ४ मंसिर २०७७ (१९ नोभेम्बर २०२०) नयाँ ठेक्का लगाइएको थियो।

पहिलो ठेकेदारले काम गर्दा लप्सीफेदीमा कुनै विरोध भएको थिएन। तर, दोस्रो ठेकेदार काम गर्न गएपछि काममा अवरोध भइरहेको छ। अवरोधका कारण हालसम्म सबस्टेसन निर्माणस्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन।