☰ open Loading... 3 May 2024|  

अलैँची बिक्रीबाट २४ करोड आम्दानी
पश्चिम नेपाल   | ९ मंसिर २०८०, शनिबार २२:०८

अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाई लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो।

आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिए। यहाँ २०४१ सालबाट अलैँचीखेती विस्तार हुँदै आएको छ। अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री भएको छ ।

गत वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड आम्दानी भएको थियो। आव २०७९/८० मा प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० देखि सात सयसम्म बिक्री भएको थियो। उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन्।

आव २०७८/७९ मा तीन सय ३५ मेट्रिक टन अलैँची दाना बिक्रीबाट १५ करोड आम्दानी भएको थियो। त्यस्तै, एक दशकअघि १३ करोडसम्म अलैँची दाना बिक्रीबाट आम्दानी भएको थियो। आव २०७७/७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी भएको थियो। उक्त वर्ष नौ सय ५० देखि साढे एक हजार रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए।

आव २०७६/७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले १२ करोड आम्दानी गरेका थिए। त्यस्तै आव २०७५/७६ मा सात सय ५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका थिए।