☰ open Loading... 3 May 2024|  

बचतकर्ताको ६१ करोड हिनामिना गरेको आरोपमा पाँच पक्राउ
पश्चिम नेपाल   | ९ मंसिर २०८०, शनिबार २१:२३

बचतकर्ताले बचत गरेको ६१ करोड रुपैयाँ हाराहारी हिनामिना गरेको आरोपमा इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

सहकारी संस्थाबाट ठगिएको भन्दै इटहरी उपमहानगरपालिकासहित कोशी प्रदेशस्तरीय सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय र प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि अध्यक्ष फडिन्द्र मगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपीन रेग्मीले बताए। उनका अनुसार अब पक्राउ गर्न अझै ११ जना बाँकी रहेका छन्।

पक्राउ परेका पाँचै जनालाई आइतबार मुद्दा चलाइने एसपी रेग्मीले बताए।

प्रदेश सहकारी रजिष्टार कार्यालय इनरुवाका अनुसार अम्बे कोशी सहकारी संस्थाले अघिल्लो आर्थिक वर्ष ८० करोड रुपैयाँ हिनामिना गरेको खुलेको छ। पछिल्लो समय चालु आर्थिक वर्ष १९ करोड हाराहारी फर्स्यौट गरे पनि अरू पैसा हिनामिना गरेको अनुसन्धानबाट खुलेको थियो।

सहकारीले हिनामिना गरेको रकममध्ये सञ्चालक समितिका अध्यक्ष मगरले मात्र दुई तिहाइ बढी हिनामिना गरेको खुलेको प्रदेश सहकारी रजिष्टार कार्यकालका प्रमुख हरिबहादुर खत्रीले बताए। उनका अनुसार अध्यक्ष मगरले आफू अनुकूलका व्यवस्थापक राखेर पैसा हिनामिना गरेको पाइएको छ।

कारबाहीका लागि मुद्दा प्रक्रिया अगाडि बढाउँदा सञ्चालक समितिका सदस्य भने परिबन्धले कारबाहीको भागीदार हुने अवस्था रहेको छ। यसमा पुरानो समितिसँगै भर्खरै नयाँ समिति बनेका दुवै समितिका रहेका सदस्य कारबाहीमा पर्ने खत्रीले बताए।

इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाले नीति नियम अनुसार आवश्यक प्रक्रिया बिना ऋण लगानी गरिएको पाइएको बताए।

यस सहकारी संस्थाले सुनसरी, मोरङ, झापा र धनकुटाका बचतकर्ताको रकम हिनामिना गरेको छ। संस्थाले बचत रकम हिनामिना गरेपछि दुर्गाप्रसाद कोइरालाको नेतृत्वमा सङ्घर्ष समिति बनेर निरन्तर सङ्घर्षका कार्यक्रम पनि गर्दै आएको थियो।