☰ open Loading... 18 October 2024|  

आन्दोलनरत शिक्षक मृत फेला
पश्चिम नेपाल   | १० मंसिर २०८०, आईतवार ०६:४५

सिम्रौनगढ नगरपालिकासँग आफ्नाे पारिश्रमिकको माग गर्दै आन्दोलन गरिरहेका एक शिक्षक मृत अवस्थामा फेला परेका छन्।

सिम्रौनगढ नगरपालिका–८ कचोर्वा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक नरेन्द्र पराजुली मृत अवस्थामा फेला परेका हुन्।

शुक्रबार बेलुका कचोर्वा नयाँ बजारमा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक रवि भुषण यादवले जानकारी दिए।

सिन्धुपाल्चोक घर भएका पराजुली गत चैतदेखि त्यस विद्यालयमा कार्यरत थिए। शिक्षक सेवा आयोगबाट नाम निकालेपछि उनी त्यस विद्यालयको दरबन्दीमा थिए।

शिक्षकको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याइएको प्रहरी निरीक्षक यादवले बताए।

मृतक पराजुलीले पाँच महिनादेखि नगरपालिकाबाट तलब सुविधा पाएका थिएनन्। उनी नगरपालिकाविरुद्ध आन्दोलनरत थिए। लामो समय देखि तलब नपाएर शिक्षक पराजुली निकै तनावमा रहेको सोही विद्यालयका प्रधानाध्यापक रामायण साहले बताए।

तलबको माग गर्दै आन्दोलन गरि रहेका शिक्षक सङ्घर्ष समितिका संयोजक उमाशंकर यादवका अनुसार शिक्षक पराजुलीले काठमाडौँमा अध्ययनरत आफ्नी छोरोलाई समेत पढाइ खर्च पठाउनु पर्ने थियो। तर दैनिक खाना खानलाई समेत पैसा नभएको गुनासो उनले साथीहरुलाई सुनाउने गरेका थिए।

लामो समयसम्म तलब नपाएर आर्थिक अभाव झेल्दै आएका उनले सहन नसकेकै कारणले मृत्युको बाटो रोजेको हुनसक्ने शिक्षक सङ्घर्ष समितिका संयोजक यादवले अनुमान गरे। प्रहरीले यसका दोषीलाई अनुसन्धान गरि कारबाही गर्नुपर्ने शिक्षक सङ्घर्ष समितिको माग छ।

देशको उप–राष्ट्रपति र मधेश प्रदेशको मुख्यमन्त्रीको गृह नगरपालिका समेत रहेको सिम्रौनगढ नगरपालिकाको कर्मचारीहरू तलबको माग गर्दै डेढ महिना देखि आन्दोलनमा छन्।

समयमै तलब नपाएर साढे चार सय कर्मचारीहरू तलबको माग राख्दै आन्दोलनमा उत्रिएका छन्। दैनिक सयौँको संख्यामा बिरामीलाई सेवा दिने नगर अस्पताल पाँच महिना देखि बन्द छ।

नगरपालिकाको ताला खुलाएर कर्मचारीहरूलाई तलब सुविधा दिनेप्रति नगर प्रमुख किशोरी प्रसाद कलवारले कुनै चासो नदेखाएका छैनन्। सिम्रौनगढ नगरपालिका लामो समयदेखि अस्तव्यस्त छ।