जाजरकोटको शिवालय गाउँपालिकामा कृषी मेला प्रदर्शनी हुने भएको छ । कृषी उत्पादनलाई प्रोत्साहन एवम् कृषी प्रबद्र्धन गर्ने उद्धेश्यले आगामी मंसिर २७ गतेदेखि मंसिर २९ गतेसम्म शिवालय गाउँपालिका–३ को ऐरेली बजारमा प्रदर्शनी हुने भएको हो ।
रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न साथै गाउँपालिका भित्रका किसानलाई प्रोत्साहन गर्ने उदेश्यले दुईदिने कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले जानकारी दिए ।
उनकाअनुसार प्रदर्शनीमा व्यवसायिक किसानहरुले तरकारी, फलफूल, अन्नबाली, नगदेबाली, मह र फलफुलका विरुवा लगायतका कृषिबाली प्रदर्शनमा ल्याउन सक्नेछन् । मेलामार्फत स्थानीय बालीको प्रयोग गर्ने व्यवहार सुधार गरी बाह्य आयात निरुत्साहित गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
स्थानीय कृषी मेलाले स्थानीय बालीको संरक्षणमा ठूलो टेवा पुग्ने गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीको भनाइ छ । व्यवसायिक कृषि उत्पादन गरिरहेका कृषकहरुलाई कृषिबाली प्रदर्शनीमा राख्न गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले कृषी मेला प्रदर्शनी राखेर प्रचार प्रसार गर्दै किसानलाई हौसला प्रदान गरेको दाबी गरेको छ ।
कृषकहरुले उत्पादन गरेको कृषिबालीको बजारीकरणमा गाउँपालिकाले सहयोग गरेर उत्पादनले उचित मुल्य पाउने जनाएको छ । यस्तै सोही मेलाको अवसरमा शिवालय बजार व्यवस्थापन समितिले अन्तरपालिका स्तरीयक पुरुष भलिबल प्रतियोगिताको पनि आयोजना गरेको छ ।
जसमा भलिबल प्रतियोगिता २७ गतेदेखि सञ्चालन हुनेछ । भलिबल प्रतियोगितामा प्रथम टिमले नगद ८० हजार १ सय ५ रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्धितिय हुनेले ६० हजार १ सय ५ रुपैयाँ मेडल र प्रमाण पत्र र तृतिय हुनेले नगद ४० हजार १ सय ५ रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रचार प्रसार संयोजक टेकबहादुर रोकायले जानकारी दिए ।
उनकाअनुसार समितिले गाउँपालिका भित्रका झाँकी, पञ्चेवाजा, पैसरी, मयुरनाँच, सिंगारु टप्पानाँच लगायतलाई प्रोत्साहन स्वरुप पुरुस्कारको समेत व्यवस्था गरिएको छ । मेला मंसिर २७ गतेदेखि मंसिर २९ गतेसम्म चल्ने बताइएको छ ।