☰ open Loading... 19 September 2024|  

देशमा सरकार छैन : ओली
पश्चिम नेपाल   | २२ मंसिर २०८०, शुक्रबार ०६:२५

 

पोखरा । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ बिहीबार कास्की प्रवेश गरेको छ । बिहीबार बिहान बागलुङको गलकोटबाट सुरु यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वतको कुस्मामा आमसभा गरी साँझ कास्की प्रवेश गरेको हो ।

पर्वत र कास्कीको सिमाना नयाँपुलमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई फूलमाला र पञ्चेबाजासहित भव्य स्वागत गरियो । यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा जनताको सरकार नभएको टिप्पणी गरेका छन् ।

हेमजाको मिलनचोकमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् । उनले भने, ‘देशमा सरकार छ जस्तो पनि छ, छैनजस्तो पनि छ । छैन भन्ने हो भने छ, भत्ता खाएको छ, झण्डा हल्लाएको छ । छ भन्ने हो भने जनताको काम गरेको छैन ।’

यस्तो अवस्थामा आफ्नो पार्टी एमाले सधैं चुप लागेर नबस्ने बताए । एमाले बाहेक अरुले यो देश बनाउन सक्दैन भन्ने कुरा एमालेको एक्लै सरकार हुँदा हेमजाको भाइरल रोड पनि बनायो, यस्ता रोड कति बनाउँछ, कति ।’

उनले आफू प्रधानमन्त्री हुनुअघि वर्षमा १० किलोमिटर सडक पिच हुने गरेकोमा आफू प्रधानमन्त्री भएपछि दिनमै १० किलोमिटरका दरले पिच गर्न थालेको दाबी गरे ।

उनले नेपालमा अब राजतन्त्र नफर्किंने दाबी पनि गरे । उनले भने, ‘हाम्रो यात्रा अहिलेको सरकारको नालायकीपनका कारण हौसिएका प्रतिक्रियावादीलाई सन्देश दिनका लागि हो । यो देशमा १६ वर्ष अगाडि मरेर चिहानमा पुगिसकेको राजतन्त्र फर्किंनेवाला छैन ।’

‘हामीले लडेर ल्याएको लोकतन्त्रमा कसैले हामीमाथि दमन गर्छु भन्ने कल्पना नगरे हुन्छ,’ पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने, ‘आजको एमाले ४० वर्षको एमाले होइन । आजको एमाले देशमा सरकार चलाइसकेको, देश बनाउन जानिसकेको एमाले हो । जनमतका हिसाबले सबैभन्दा ठुलो पार्टी हो ।’

उनले एमाले सरकारमा भएको भए अरु पार्टीको राजनीतिक पसल बन्द हुने तर्क गरे ।

त्यसअघि कुष्मामा सम्बोधन गर्दै उनले जाजरकोट र रुकुम पश्चिममा जनताका पीडा हेर्न नसक्ने सरकार किन चाहियो ? भनी टिप्पणी गरे । उनले भने, ‘अस्थायी आवास बनाएको, दिएको छैन । हामीले खटाएका स्वयंसेवकले ८२३ घर बनाइदिँदा सरकार पैसा जम्मा गरेर बसेको छ । काम तपाईंहरु गर्नुस । रकम सरकारले दिन्छ भन्न पनि सक्दैन । सरकारको सहयोग नै छैन । जनतालाई सहयोग गर्न नदिने, जे बुझाउने सरकारलाई बुझाउने भनेको थियो । हामीले ५०२ वटा घरबाट भग्नावशेष झिकिदिएका छौं ।’

उनले मध्यपहाडीको बाटो हेर्दा एमालेको पालोमा जे बनेको थियो, त्यसपछि भत्केको ठाउँ नटालेको बताए । ‘जनतामा निराशा बनाउने, युवालाई विदेश पठाउने । यहाँका मेडिकल कलेजलो सिट घटाइदिने, नर्सिङ कलेज खोल्न नदिने, बन्द गर्दिने । यो खालको स्थिति बनाउँछ गठबन्धनको सरकारको,’ उनले आरोप लगाए ।

महाकालीको बैतडी झुलाघाटदेखि मेचीको पाँचथरस्थित चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्राको टोली बिहीबार राति पोखरा बसेको छ ।

एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङका अनुसार ओलीले शुक्रबार बिहान ९ बजे तालचोकमा संक्षिप्त सम्बोधन गर्ने छन् । ओलीसहित पार्टीका पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष÷प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्यहरू र तोकिएका व्यक्तिहरू संकल्प यात्राको केन्द्रीय टोलीमा सहभागी छन् । उनीहरुलाई कास्कीमा नयाँपुल, नागडाँडा र हेमजाको मिलनचोकमा स्वागत गरिएको हो । टोली शुक्रबार बिहान साढे ७ बजे जिरो किमीबाट प्रस्थान गर्ने छ । उनीहरुको अमरसिंहचोक, तालचोक, पिप्लेबजारमा स्वागतसहित बिदाइ गरिने प्रचार संयोजक एवं एमाले कास्कीका सहसचिव दर्शन लामाले बताए ।