☰ open Loading... 19 September 2024|  

सवारी दुर्घटनामा ५ जनाको मृत्यु
पश्चिम नेपाल   | २३ मंसिर २०८०, शनिबार १८:५९

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

सिरहा, औरही गाउँपालिका-२ तुलसीपुरमा स.१ त ७४५८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४० वर्षीय सुरेन्द्र यादव र सोही ठाउँ बस्ने वीरेन्द्र यादवको छोरा ७ वर्षीय चन्दन यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सुरेन्द्रको प्रादेशिक अस्पताल लहान र चन्दनको घटनास्थलमै मृत्यु भएको हो । साथै घाइते भएका १ जनाको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-४ स्थित सडकमा प्र.१-०२-००१ क ४५२५ नम्बरको ट्रकमा को.२० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २८ वर्षीय विक्रम माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका मोटरसाइकल चालकसमेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, राजपुर गाउँपालिका-१ कटवेरुवामा रा.४ प १०२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तुलसीपुर उपमहानगरपालिका-७ गणेशपुर बस्ने ७० वर्षीया गोमा कुमारी भण्डारीको शुक्रबार राती मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-११ खानेपानीस्थित सडकमा बा.७ च ५९७९ नम्बरको गुडिरहेको बोलेरोबाट लडेर सोही नगरपालिका-९ जामिरे बस्ने ३५ वर्षीय भिमसेन बिश्बकर्माको शनिबार बिहान मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको मेलम्ची नगर अस्पताल हुँदै नेपाल मेडिकल कलेज अत्तरखेल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।