☰ open Loading... 3 March 2024|  

हातपाखुरा चल्दासम्म भेँडीगोठमै
पश्चिम नेपाल   | २४ मंसिर २०८०, आईतवार ०७:४२

समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जंगल । त्यही जंगलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान ।

नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन् । ती गाडीका आवाजले भेडीगोठालेलाई छुँदैन । उनीहरु आफ्नै धुनमा भेडाको स्याहारसुसारमा व्यस्त हुन्छन् ।

एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो । लोकमार्गको ट्र्याक खुले पनि गाडी गुड्दैनथे । तीन जिल्लाका भेडी गोठालाको मात्रै यहाँ चहलपहल हुन्छ । लोकमार्गसँगै जोडिएका गोठमा अहिले पनि गोठाला बस्दै आएका छन् । चिसो याममा खाली खुट्टा भेडीगोठाले काम गरिरहेका भेटिन्छन् ।

धेरैजसो गोठालाहरु असार र कात्तिक महिनामै बेंसी झरे पनि चार जना अहिले पनि पातीहाल्ने क्षेत्रमा भेडाबाख्राको हेरचाहमा व्यस्त छन् । केही दिन अगाडि वर्षासँगै परेको हिमपातले तीन दिन दैनिकी कष्टकर बन्यो ।

चिसो ह्वात्तै बढेपछि यहाँ भएका गोठाला बेंसी झर्ने तरखरमा छन् । अहिले पूर्वी रुकुमको भूमे गाउँपालिकाका श्रीप्रसाद पुन, जोरप्रसाद पुन, सत गुरुङ र रास गुरुङको परिवार भेडीगोठमा छन् ।
उनीहरुका ठूलो सङ्ख्यामा भेडाबाख्रा हुँदा अहिलेसम्म पातीहाल्ने क्षेत्रमै रहेका हुन् । उनीहरु सबैले भेडापालन थालेको दशकौं बित्यो । पाँच पुर्खादेखि भेडापालन गर्दै आएको बताउने श्रीप्रसाद ६१ वर्षका भए ।