☰ open Loading... 4 May 2024|  

प्याज लुकाएर मनपरी मूल्य
पश्चिम नेपाल   | २४ मंसिर २०८०, आईतवार २१:२१

व्यवसायीहरुको नियोजित हड्ताल र भारतको प्रतिबन्धका कारण बजारमा प्याजको हाहाकार भएको छ । भारतले शनिबारबाट लागू हुनेगरी प्याजको निर्यातमा रोक लगाएको छ । तर त्यसअघि नै मंसिर १९ गतेदेखि नेपालमा प्याजको कारोबार गर्ने व्यापारीहरुले प्याजको कारोबार ठप्प बनाएका थिए ।

व्यापारीहरुको प्याज बिक्री हड्तालकै बीच भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अहिले प्याजको कालोबजारी सुरु भएको छ । आयातकर्ताहरुले सीमित पसलमा मात्रै उपलब्ध गराएको प्याजको मूल्य किलोमा ६० रुपैयाँसम्म बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

मंसिर १८ गते कालीमाटी तरकारी बजारमा प्याजको प्रतिकिलो थोक मूल्य ९७ रुपैयाँ थियो । तर १९ गतेबाट व्यापारीले आलु र प्याजको सरकारी अभिलेखमा हुने कारोबार नै रोकिदिए । त्यसलगत्तै बढ्न थालेको प्याजको मूल्य अहिले मनपरी तोकिएको छ । छिटफुट रुपमा उपलब्ध भएको प्याजको मूल्य १७० रुपैयाँसम्म प्रतिकिलो मूल्य तिरेको उपभोक्ताहरुको गुनासो छ ।
कालीमाटी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार बजारमा शनिबार बेलुकी जम्मा एक गाडी हाराहारी प्याज आएको थियो । त्यो एकैदिनमा हारालुछ भएको समितिले जनाएको छ ।

यता प्याज व्यापारीहरुको संस्था नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघले पनि शनिबार बेलुकी जम्मा एक गाडी प्याज आएको र त्यसको बिक्री सकिएको जनाएको छ । संघका महासचिव प्रकाश गजुरेलले बजारमा प्याज नभएको बताए ।

‘यसपटक हड्ताल गरेर बर्बाद गरियो,’ उनले भने, ‘हड्तालका कारण आयात गर्न पनि पाइएन यही बेला भारतले प्रतिबन्ध गरिदियो ।’ आफूहरुले चाहेर पनि बजारमा प्याज आयात गर्न नसकेको भन्दै उनले बजारमा प्याजको मौज्दात पनि नरहेको दाबी गरे । संघका अनुसार शनिबार राति आएको प्याज प्रतिकिलो १४० रुपैयाँ माथिका खरिद बिक्री गरिएको थियो ।