☰ open Loading... 26 July 2024|  

हटेन छाउपडी
पश्चिम नेपाल   | २ पुष २०८०, सोमबार ०७:०६

हुम्ला : हिमाली जिल्ला हुम्लामा छाउपडी प्रथा अझै हट्न सकेको छैन । जिल्लाका दुरदराजका गाउँ बस्तीमा हिउँद होस् या बर्खा, महिलाले महिनाको एक पटक पाँच दिन र वर्षको ६० दिन छाउ गोठमा बस्नु परेको स्थानीय पारसा शाहीले बताइन् ।

 

उनका अनुसार जिल्ला सदरमुकाम सिमकोट बजारमा छाउ हुँदा गोठमा नबसेर एक छुट्टै कोठा बस्ने गरेपनि गाउँघरमा अहिलेसम्म पनि चिसो छाउ गोठमा बसेर रात कटाउनुपर्ने बाध्यता रहेको छ । छाउ हुँदा घर बाहिर नबस्दा घरमा भएको कुल देवता बिग्रिने, सन्तानमा हानी पुग्ने समाजमा पुरानो प्रचलन भएको र अहिलेको समाजमा पनि कायमै रहेको स्थानीय बिष्णु रावतले बताइन् । महिला हिंसा, छाउपडी प्रथा, घरायसी हिंसा, यौन हिंसा जस्ता हिंसाको अन्त्य गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएपनि केहि परिवर्तन हुन नसकेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए ।

 

अध्यक्ष रावलले यस्ता कार्यक्रम गर्दा सदरमुकाममा मात्र केन्द्रित नभएर गाउँ घरमा केन्द्रित भए समाज परिवर्तन हुन समय नलाग्ने बताए । आफ्नै घर परिवारले यस्ता कुरा नबुझ्नु, समाजमा महिलालाई पहिलाकै जमनामा तुलना गर्नु, देवीदेवताको विश्वास गर्ने भएकाले महिलाले यस्ता समस्या भोग्नु परेको सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकायाले बताइन् ।

 

महिला महिनावारी हुँदा लगाउने सेनिटरी प्याड नहुनु, सरसफाइ नगर्नु, महिलाको बाहिर शरिरमा रगत देखिँदा पाँच दिनसम्म घर बाहिर राख्ने गरेको स्थानीय गुयला रावतले बताइन् ।