☰ open Loading... 14 July 2024|  

तरकारीबाट ३ करोड बढी कमाउछन् रजालीबासी
पश्चिम नेपाल   | ६ पुष २०८०, शुक्रबार १८:३५

रजाली, बाजुरा सदरमुकाम मार्तडीसँग सीमा जोडिएको नजिकको गाउँ। बडीमालिका नगरपालिकाको ३ नम्बर वडा। भूगोलको सीमा र परिवार संख्यामा सानो तर उत्पादन र उर्वरामा जिल्लाकै नमुना गाउँ हो, रजाली। जहाँ २ सय ८ परिवारको बसोबास छ। पालिकाका ९ वटा वडा मध्ये दोस्रो सानो वडा पनि रजाली नै हो।

तर रजालीको परिचय कम जनसंख्या र सानो वडाको रुपमा सीमित छैन्। तरकारी खेतीका लागि जिल्लाकै नमुना गाउँ हो, रजाली। बसोबास गर्ने जतिसबैका लागि खेती खेती अनिवार्य पेशा हो। ती मध्ये एक सय बढीको व्यवसाय नै तरकारी खेती हो। उनीहरुले न अन्न खेती गर्छन्, न देश विदेश जाने आउने काम नै।

डोकोमै बिक्री गरेर भएपनि दशक लामो समयदेखि रजालीका स्थानीय तरकारी खेतीसँग आवद्ध छन्। सिंगो गाउँ नै तरकारी खेतीले चिनिएको छ। बाजुराका लागि तरकारी र रजाली पर्यावाची जस्तै बनिसकेको भन्छन्, बडीमालिका ३ का वडा अध्यक्ष डबल रोकाया। रोकाया स्वयम तरकारी किसान हुन्।

२०७९ मा रोकाया वडा अध्यक्ष भएपछि तरकारी खेतीको जिम्मा सम्पूर्ण जिम्मा उनकी श्रीमति फुगी रोकायाले सम्हालेकी छन्। साँझ विहान रोकायाको साथ नरहने त कुरै भएन्। सफल किसान मध्येका रोकाया परिवारले डेढ दशक लामो समय भयो, तरकारी खेती सुरु गरेको छ। सिंगो मार्तडी बजारलाई नै तरकारी पुर्याउने जिम्मा जस्तै रजालीको देखिन्छ।

मार्तडी बजारमा तीन तलाको घर बनाएका छन्। जेठो छोरा इन्जिनियर, कान्छो छोरा एच ए, र बहिनीलाई बिएसइ एजी पनि तरकारी खेतीबाटै पढाएका हुन्। यी उदारण मात्रै हुन्। सिंगो गाउँ नै तरकारी खेतीले बाँचेको र रजालीको परिचय नै तरकारी खेतीले स्थापित भएको भन्नु हुन्छ बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का । नगर प्रमुख खड्कापनि रजाली बासी नै हुन्।

सिंगो खेतमा तरकारी मौसमी र बेमौसमी तरकारी र टनेलहरु मात्रै देखिने गरेका छन्। कुनै परिवारका आँगन सुख्खा देखिदैनन्। तरकारी खेती र उत्पादन अनि आत्मनिर्भर किसानको परिचयका लागि जिल्लाको शान नै रजाली बासीले बढाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन्।

फुगी रोकायाको जस्तै रजाली पिप्सेका रणबहादुर र जयबहादुर खड्काले पनि राम्रो आम्दानी गर्ने गरेका छन्। जयबहादुर खड्काले तरकारी खेतीबाटै मार्तडीमा २ ठाउँमा जमिन किनेका छन्। छोराछोरी काठमाडौंमा पढाउने गरेका छन् भने रणबहादुर खड्काले पनि छोरीलाई तरकारी खेतीबाटै ओभरसियर बढाउन थालेका छन्।

मासिक २५ हजार बढी आम्दानी हुन्छ, केही बचत गरिएको छ। छोरालाई पनि एसइइ पनि राम्रै कलेजमा प्राविधिक शिक्षा पढाउने गरि बचत गर्न थालिएको खड्काले सुनाए। रजालीका करिब १ सय बढी तरकारी किसानले बार्षिक २ देखि ४ लाख सम्म आम्दानी गर्ने गरेका छन्। गाउँमा बार्षिक ३ करोड बढी रकम तरकारीबाटै भित्रिने गरेको निवर्तमान वडा अध्यक्ष वीरबहादुर रावलले जानकारी दिएका छन्।

अवपाद बाहेक गाउँबाट कोही भारत जान बाध्य छैनन्। युवाहरु गाउँमै भेटिन्छन्। तरकारी बाहेक कागती, किवी, सुन्तला केरा खेती पनि स्थानीयले थालेका छन्। रजालीका स्थानीयले तत्कालिन केयर नेपालको सहजिकरणमा २०५८ सालपछि तरकारी लगाउन थालेपनि २०६४।६५ पछि निरन्तरता दिन थालेका हुन्।

रजाली बासीले गाउँमा तरकारी खेतीबाटै बचेको रकम जम्मा गर्न लक्ष्मी बचत तथा ऋण सहकारी संस्था बनाएका छन्। हाल त्यो संस्थामा अरुले पनि बचत गर्न र ऋण लिन पाउने सुविधा छ। तर खास तरकारी खेतीबाटै बचेको रकम बचत गर्ने उदेश्यले स्थापना गरिएको स्थानीयको भनाई छ।

रजालीले तरकारी खेतीको परिचयबाट नाम मात्रै कमाएको नभई स्थानीयले राम्रो आम्दानी समेत गरेर सन्तानको भविष्य समेत बनाएकोमा भन्छन्, स्थानीय अगुवा काशी विक। गाउँमा हाल तरकारी खेतीबाटै कमाएको पैसा लगानी लगाएर ५० बढीले विभिन्न क्षेत्रको प्राविधिक शिक्षा पढीरहेका छन्। उच्च शिक्षा अध्ययनका लागि आधा दर्जनले विदेशमा छन्। रोजगारीकै लागि भनेर विदेश जानु पर्ने अवस्था देखिदैन्।

रजाली बासीको प्रमुख पेशा र बिशेषता नै तरकारी खेती हुन थालेको छ। उनीहरुको परिचय नै तरकारी हो। २ सय परिवार बसोबास हुने गाउँमा तरकारी खेतीबाट मात्रै ३ करोड बढीको आम्दानी आउने कुराले ठूलो अर्थ राख्ने भन्नु हुन्छ सामाजिक अभियान्ता लालबहादुर ओली। रजालीकै जस्तो इच्छाशक्ति र सोच सबै गाउँ र युवामा विकास गर्न आवश्यक हुने सुझाव ओलीको छ।

घरमा आमा बुबाले तरकारी खेती गर्ने र छोराछोरी उच्च शिक्षा अध्ययन गर्ने गरेको गाउँको अवस्था छ। रजालीको हालको अवस्थाले निरन्तरता पाए केही वर्षमै नमुना बन्ने अवस्था छ। बाजुराका ६९ वटा वडा मध्ये रजाली मात्रै उत्पादनमा नमुना हो। सरकारी तथा गैर सरकारी निकायको ध्यान र लगानी पनि रजालीलाई विशेष प्रकारले हुने गरेको छ। तर त्यो भन्दा बढी इच्छाशक्ति र निरन्तरता यहाँका किसानहरुको छ।

मेहनत पनि उनीहरुले कम्ता गरेका छैनन्। विहान उज्यालो नहुँदै मार्तडी पुग्छन्। डोकोमा बोकेर ल्याएको तरकारी बिक्री गर्छन्, घर फर्किन छन् र र फेरि तरकारी खेतीमा लागि हाल्छन्। उनीहरुलाई सहज बाटो र संकलन केन्द्रको अभावले भने समस्या छ। पछिल्लो समय नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर केही राहत हुने गरि काम अघि बढाएको नगर प्रमुख अमर खड्काले बताएका छन्।

किसानलाई नै सहज हुने र कृषि क्षेत्रमा किसानलाई आकर्षण बढाउने उदेश्यले कृषि एम्बुलेन्स खरिद गरेर ढुवानी नै थालिएकोले पुरानो समस्या हट्ने नगर प्रमुख खड्काको भनाई छ। करोड कमाउने रजालीको सिको अरुले गर्न सके विदेश पलाएन हुनु पर्ने र बेरोजगार समस्या सुनाउनु पर्ने अवस्थाबाट मुक्त हुने दिन टाढा छैनन्।

नागरिकबाट