☰ open Loading... 26 July 2024|  

वर्षौपछि हट्यो नुनको सास्ती
पश्चिम नेपाल   | ९ पुष २०८०, सोमबार ०६:३७

कालिकोट । पाँच पाकेट नुनका लागि २ हजार रुपैयाँ खर्च गरेर जिल्ला सदरमुकाम मान्म जानुपर्ने बाध्यताबाट रास्कोटवासीले मुक्ति पाएका छन् ।

रास्कोट नगरपालिकाले नगरपालिकाको केन्द्र आरसपी बजारमा डिपो स्थापना गरी नगरवासीलाई नुन वितरण गर्न थालेपछि वर्षाैंदेखिको नुनको पीडाबाट रास्कोटवासीले मुक्ति पाएका हुन् ।

नागरिकता र मालपोतसँग सम्बन्धित कामबाहेक अन्य सबै काम नगरपालिकामै हुन थालेपछि रास्कोटवासी सदरमुकाम मान्म जान छाडेका थिए ।

‘नुनकै लागि ६ घण्टाको यात्रा गरी २ हजार खर्च गरेर सदरमुकामको डिपोसम्म पुग्नुपर्ने अवस्था थियो, यस्तो पीडाबाट मुक्ति मिलेको छ,’ रास्कोट–१ लहरेलाका अमरसिंह लुहारले भने, ‘बल्ल गाउँमा पनि सिंहदरबार आएको महसुस भएको छ, अहिले पैसा भएपछि सबै थोक गाउँमै पाइन थालेको छ ।’

अमरसिंह लुहार मात्र होइनन्, नगरपालिकाबाटै नुन लिन पाउँदा रास्कोट–१ कोल्ढुसका अनुरुद्ध सञ्ज्यालको पनि खुसीको सीमा छैन । विगतमा नुनकै लागि एक महिनाको पैदल बाटो हिँडेर राजपुर कटासे गएको दुवैले बिर्सेका छैनन् ।

नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा नगरपालिकामा पनि आयोडिनयुक्त नुन डिपो स्थापना गरेपछि अहिले यहाँका नागरिकले नुन पाउने गरेको नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।

आयोडिनयुक्त नुन गाउँमै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको शाहीले बताए । ‘आयोडिनयुक्त नुन ल्याउनका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो,’ नगरप्रमुख शाहीले भने, ‘अब सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।’

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जिल्ला शाखाको सहकार्यमा गाउँमै नुन डिपोको स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए । ‘आयोडिनयुक्त नुन ल्याउनका लागि यहाँबाट सदरमुकाम जान र आउनका लागि कम्तीमा ३ हजार रुपैयाँ खर्च हुने गरेको थियो, त्यहाँ गएर पनि एक जनाले पाँच किलो मात्रै नुन पाउँथे,’ प्रशासकीय अधिकृत बमले भने, ‘प्रतिकिलो ९ रुपैयाँ पर्ने नुनका लागि ल्याउन जाँदा खर्च बढी हुने गरेकामा अब त्यो हटेको छ ।’

महिनामा एकपटक नुन दिने गरेको रास्कोट नगरपालिका नुन डिपोले जनाएको छ । आइतबार मात्र ३ सयभन्दा बढीलाई नुन वितरण गरिएको शाखा डिपोले जनाएको छ ।