मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय कार्यालयमा गत १२ असोजमा प्राध्यापकहरूले लगाएको ताला दुई दिनभित्र खोल्न अल्टिमेटम दिएको छ ।सुर्खेतको वीरेन्द्रनगरमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रजातान्त्रिक प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संघ र एकीकृत प्रगतिशील प्राध्यापक संघले सम्बन्धन तथा थप कार्यक्रम दिन नहुने लगायतको माग राखेर ताला लगाएका थिए ।
तीन महिनादेखि ताला लगाइदा दैनिक प्रशासनिक कामकाज ठप्पमा भएको र विश्वविद्यालयको गरिमा र प्रतिष्ठामा समेत आँच पुगेको भन्दै विश्वविद्यालयले अबको दुई दिनभित्र ताला खोलिदिन अपिल गरेको छ ।
विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै प्राध्यापक संघसंगठन तथा विद्यार्थी संघसंगठनसँग विश्वविद्यालयको उच्च स्तरीय वार्ता समितिले १४ औँ पटक औपचारिक तथा अनौपचारिक वार्ता तथा संवाद गर्दा पनि निर्णयमा पुग्न नसकेको जनाएको छ ।
तालाबन्दीको कारण शैक्षिक तथा प्रशासनिक कामहरू ठप्प भएको र विश्वविद्यालयको आर्थिक वर्ष २०८०–०८१ को दोस्रो त्रैमासिक बजेट निकासा हुन नपाएको विश्वविद्यालयले जनाएको छ ।
जसले गर्दा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक र कर्मचारीहरूको तलब भत्ता लगायत सञ्चालन खर्च निकासा तथा भुक्तानीमा समेत अवरोध भएको भन्दै बुधबारसम्म ताला खोली सहयोग गर्न अपिल गरेको छ ।
रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले विज्ञप्ति जारी गरी दुई दिनभित्र ताला नखोले विश्वविद्यालयका सम्पूर्ण पदाधिकारीहरूको निर्णय बमोजिम विश्वविद्यालयले प्रशासन तथा सुरक्षा निकायको समन्वयमा ताला तोडी कार्यालय सञ्चालन गर्ने उल्लेख गरेका छन् ।
विश्वविद्यालयप्रति विद्यार्थी, प्राध्यापक तथा अभिभावकहरूको विश्वास कायम राख्न विश्वविद्यालय प्रशासन जिम्मेवार रहेको र तालाबन्दी गर्ने प्राध्यापक संघ सङ्गठनहरू र विद्यार्थी संघ सङ्गठनहरू समेत उत्तिकै जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
‘उल्लिखित समयभित्र ताला नखोले विश्वविद्यालयका सम्पूर्ण पदाधिकारीहरूको निर्णय बमोजिम विश्वविद्यालयले प्रशासन तथा सुरक्षा निकायको समन्वयमा ताला तोडी कार्यालय सुचारु गर्न बाध्य हुने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।