☰ open Loading... 26 July 2024|  

सुन्तला बेचेरै लाखौं आम्दानी
यामराज बिष्ट   | २० पुष २०८०, शुक्रबार ०५:२८

 

दैलेख । दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका किसानले व्यवसायिक सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । मौसम अनकूल र नयाँबोटमा फल राम्रो लागेका कारण छिउडी पुसाकोटमा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो ।

किसानले सुन्तला बेचेर वार्षिक २लाख बढीको सुन्तला बेच्ने गरेका छन् । जसबाट उनीहरुले राम्रो आम्दानीमात्र गरेका छैनन् स्वदेशमै संभावना छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

छिउडी पुसाकोटमा उत्पादित सुन्तला बिक्रीका लागि दैलेख सदरमुकाम किसान पुग्ने गरेका छन् । मौसम अनुकूल भएकाले यो वर्ष सुन्तला उत्पादन भएको भन्दै सुन्तला खेती गर्ने कृषकहरु खुशी भएका छन् । यो वर्ष गतवर्षको तुलनामा सुन्तला उत्पादन बढेको छ ।

कृषक पुर्ना थापाले यसवर्ष १ लाख ५ हजारको सुन्तला बिक्री गरेको सुनाइन् । उनीमात्र हैन अन्य कृषकले पनि सुन्तला बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । एउटै कृषकले २लाख रुपैयाँको सुन्तला बिक्री गरेको उनले जानकारी दिए । हाल उनको बारीमा रहेका ५ सय जति सुन्तलाका बोटहरुमा २ सय बोटमा राम्रो फल लागेको उनको भनाई छ ।
छिउडी पुसाकोटका अधिकांशको रोजीरोटी सुन्तलाले नै चलेको छ’, उनले भनिन्, ‘यस क्षेत्रमा सुन्तला उत्पादनको अत्यन्त राम्रो सम्भावना भएकाले युवायुवती विदेश छोडेर सुन्तला खेतीतर्फ लागेका छन् ।’ उनले दुल्लु नगरपालिकाले सुन्तला उत्पादक कृषकलाई सहयोग नगर्दा बजारीकरणमा समस्या भएको गुनासो गरिन् ।

अर्का कृषक छत्रा थापाले यसवर्ष ५० हजारको सुन्तला बिक्री गरेको बताइन् । गतवर्ष वर्षा भएकाले सुन्तला सानो फलेर बिक्री कम हुँदा चिन्तित कृषक यसपालीको मौसमले साथ दिदा राम्रो कमाई भएकाले कृषक खुसी भएको उनको भनाई छ । दुल्लु नगरपालिका–६ छिउडी पुसाकोट बाट डोकोमा सुन्तला बोकेर दैलेख सदरमुकाम आएर सुन्तला बेच्ने छत्रा यो वर्ष गतवर्षको भन्दा पनि बढी आम्दानी गर्ने लक्ष्यमा पनि छन् । उनका अनुसार गतवर्षको भन्दा यो वर्ष सुन्तला उत्पादन बढेकाले आम्दानी पनि राम्रो हुने आशा बढेको छ । सुन्तला बेचेरै कृषकहरुले दैनिक करिब ४ हजारसम्म आम्दानी गरिरहेका छन् । दैनिक ४ हजारका दरले सुन्तला विक्री गर्ने सुन्तला व्यापारीहरुले मासिक १ लाख २० हजारसम्म आम्दानी गरिरहेका छन् ।

यसरी कृषकले सुन्तला बेचेरै लाखौ आम्दानी गर्दै जाने हो भने कृषि क्षेत्रप्रति युवाहरुको आकर्षण बढ्दै जाने कृषकको भनाई छ । जिल्लाका दुल्लु नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, आठबिश नगरपालिका, गुराँस गाँउपालिकामा सुन्तलाको उत्पादन राम्रो हुने गरेका कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए । दैलेख जिल्लामा ६ सय हेक्टर क्षेत्रफल सुन्तलाको उत्पादनशील क्षेत्र रहेको उनले बताए ।

जिल्लाको ११ वटै पालिकामा स्थानीय जातको सुन्तला उत्पादन हुने गरेको कृषि बिकास कार्यालयले जानकारी दिएको छ । दुल्लु नगरपालिकामा सबै भन्दाबढी सुन्तलाको उत्पादन हुने गरेको निमित्त कार्यालय प्रमुख पाण्डेको भनाइ छ । जिल्लाका बढी जसो स्थानमा सुन्तला फले पनि कृषकहरु व्यवसायिक भने हुन नसक्दा सुन्तलाबाट सोचेजस्तो आम्दानी गर्न सकिरहेका छैनन् । सदरमुकाम नजिकका स्थानहरुबाट भने कृषकहरु सदरमुकाममै आएर बेच्ने गरेकाले उनीहरुले लाखौ आम्दानी गर्ने गरेका हुन् ।