कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाको केन्द्र विवाद ६ वर्ष बित्दा पनि समाधान भएको छैन । जसका कारण पालिकाको केन्द्रमा निर्माण हुने भौतिक पूर्वाधार निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समस्या भइरहेको छ । राजनीतिक दलहरूका आ–आफ्नो स्वार्थका कारण यो समस्या आएको हो ।
तिलागुफा नगरपालिका–६ का दिलीपकुमार शाहीले भने, ‘तिलागुफा नगरपालिका बनेको ६ वर्ष भयो, सुरुवाती वर्षदेखि नै पालिकाको केन्द्र तोक्ने कार्यमा दलहरूबीच भएको विवाद अहिलेसम्म पनि समाधान भएको छैन, हाल एक एनजीओले बनाइदिएको तिलागुफा नगरपालिका–६ को वडा कार्यालयको भवनबाट नगरपालिकाको सेवा प्रवाह भइरहेको छ, नगरपालिकाको केन्द्र कहाँ हुन्छ भन्ने’bout हामी सबै अन्योलमै छौं ।’
अघिल्लो स्थानीय सरकार भएका बेला १५ मंसिर २०७६ मा बसेको सातौं नगरसभाले तिलागुफा नगरपालिकाको केन्द्र तिलागुफा नगरपालिका–९ चिल्खाया तोकेको थियो । सो निर्णयविरुद्ध उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा मुद्दा दर्ता भयो । सरकारले अस्थायी केन्द्र तिलागुफा नगरपालिका वडा नम्बर ६ गाल्जे तोकेको थियो ।
नगरपालिकाको केन्द्रका लागि सबैको पायक पर्ने स्थान पनि गाल्जे नै थियो । तर, राजनीतिक दलको स्वार्थले सो ठाउँमा नतोकेर नगरपालिकाको किनारा चिल्खाया तोकिएको भन्दै स्थानीयले नै जुम्ला पुगेर मुद्दा दर्ता गरे । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा (३) मा गाउँपालिका वा नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने कानुनी व्यवस्था छ ।
तर, तिलागुफाको नगरसभाले गरेको निर्णयमा दुई तिहाइ पुगेको थियो । उच्च अदालत सुर्खेत जुम्ला इजलासले कानुनी प्रक्रिया पूरा नगरी पालिकाको केन्द्र तोकेको भन्दै सो निर्णय खारेज गरिदियो । तर, सो विवाद भने कायमै रह्यो । फेरि तिलागुफा नगरपालिका–९ चिल्खायाका स्थानीयले उच्चको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्चमा रिट दर्ता गराए । अहिले सर्वाेच्चमा तिलागुफा नगरपालिका वडा नम्बर ६ र ९ का स्थानीय नागरिक तारिख बोकिरहेका छन्् । नगरपालिकाको केन्द्र भने अन्योलमै छ ।
तिलागुफाको तत्कालीन सातौं नगरसभामा निर्णय हुँदा नगरसभामा उपस्थित ५४ सदस्यमा ४७ जनाले मात्र मतदान गरेका थिए । त्यसमा पनि ३७ जनाले पक्षमा र १० जनाले विपक्षमा मतदान गरेका थिए । गाल्जेमा पर्याप्त जग्गा दिँदा भौतिक पूर्वाधार, भौगोलिक र प्रशासनिक सुगमता, यातायात सञ्चार सुविधाका आधारमा तिलागुफाको केन्द्र गाल्जेमा हुनुपर्ने वडा नम्बर ६ का नागरिकको माग छ । तर, वडा नम्बर ९ का स्थानीयको भने पहिलो नगरसभाले चिल्खायामा तोकिसकेको चिल्खायामै नगरको केन्द्र बन्नुपर्ने माग छ ।
तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले नगरपालिकाको केन्द्रका विषयमा अदालतमा मुद्दा चलिरहेकाले अदालतले नटुंग्याएसम्म कुनै प्रक्रिया अगाडि नबढ्ने बताए । उनले भने, ‘पहिलो कार्यकालको नगरसभाले गरेको निर्णय उच्च अदालत जुम्लाले खारेज गरिदियो, अहिले फेरि सर्वोच्चमा मुद्दा चलिरहेको छ । अब सर्वोच्चले जहाँ तोक्यो, त्यही ठाउँमा केन्द्र हुन्छ, सर्वोच्चले पनि उच्च अदालतको फैसलालाई सदर गरिदियो भने नगरपालिकाले पुनः प्रक्रिया अगाडि बढाउनेछ ।’
हाल तिलागुफा नगरपालिकाको अस्थायी केन्द्रमा वडाका नाममा ६१ हजार ६ सय १२ वर्गमिटर क्षेत्रफलको जग्गा उपलब्ध भई सो जग्गामा करिब २ करोड रुपैयाँको लागतमा बनेको वडा नम्बर ६ को प्रशासनिक भवनमा नगरपालिका सञ्चालन भइरहेको छ ।राजधानीबाट
पश्चिम नेपाल | ८ माघ २०८०, सोमबार ०६:४१