☰ open Loading... 19 September 2024|  

बालिका बलात्कारका दोषीलाई जन्मकैदको फैसला
पश्चिम नेपाल   | १० माघ २०८०, बुधबार ०६:३८

दैलेख । सात वर्षीया बालिका बलात्कार घटनाका कसुरदारलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष काराबास (जन्मकैद)सँगै ७ लाख रुपैयाँ जरिमाना, १ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति र २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको हो ।

पीडित पक्षले दिएको उजुरीमा गत वैशाख २९ गते बलात्कार गरेको भनी खुलाइएको घटना प्रहरी अनुसन्धान, स्वास्थ्य परीक्षण प्रतिवेदन र अदालती तहकिकातबाट पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सजाय भएको अदालतका स्रेस्तेदार उपसचिव बद्रीप्रसाद लामिछानेले जानकारी दिए ।

पीडित पक्षको उजुरीका आधारमा गुप्तालाई प्रहरीले गएको ३ जेठमा सुर्खेतस्थित घरबाट पक्राउ गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन दैलेख अस्पतालमा गरिएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २६ जेठमा दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो । अभियोग सम्बन्धमा २७ जेठमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।