☰ open Loading... 7 September 2024|  

सशस्त्र प्रहरीका १०० एसपीको एकैपटक सरुवा
पश्चिम नेपाल   | २६ माघ २०८०, शुक्रबार ०५:२५

सशस्त्र प्रहरी बल नेपालका १०० एसपीको एकैपटक सरुवा भएको छ ।उनीहरुले सरुवा भएको कार्यालयबाटै फागुन १ गतेदेखि तलब भत्ता तथा राशन पाउने छन् । संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई कार्यान्वयन भए पश्चात नयाँ बढुवा भएका सि.सं. ३ सशस्त्र प्रहरी निरीक्षक टोलीका सशस्त्र प्रहरी उपरीक्षकसहित सिनियर ब्याच सि.सं. २ र अन्य विभागिय सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्डको जिम्मेवारी दिईएको हो ।

सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतमा गरेका कमाण्डको समेतलाई आधार मानी जेष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सोही अनुसारको जिम्मेवारी दिईएको हो । संगठनले अख्तियार गरेको पूर्वानुमान सूचीमा आधारित रहि हाल रिक्त रहेका कमाण्डलाई आधार मानी मेरिट अनुसार ४१ जना सशस्त्र प्रहरी उपरीक्षहरुले कमाण्डको जिम्मेवारी प्राप्त गरेका छन् ।

उनीहरुको पूर्वानुमान सूची यही असोज ५ गते प्रधान कार्यालयले ५० जनाको मुख्य र १० जनाको बैकल्पिक सूचीमा सूचीकृत गरी प्रकाशन गरेको थियो ।

पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी उपरीक्षकहरुलाई समेटी आगामी कमाण्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना गरेको छ ।

नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ २४ गतेको निर्णयअनुसार सरुवा गरिएको हो ।