☰ open Loading... 16 July 2024|  

कर्नालीका मर्म : गौरवमय इतिहासदेखि भविष्यको खोजीसम्म
पश्चिम नेपाल   | २८ माघ २०८०, आईतवार १६:५३

नुन पाउँथ्यो, ऊन पनि पाउँथ्यो, कर्नालीका गाउँमा

लागेन पारिलो घाम, राजनीतिका नाउँमा

कर्नाालीको कथा

तुमीकन क्या था ?

डा. दीपेन्द्र रोकायाद्धारा लिखित ‘कर्नालीका मर्म’ पुस्तकमा उल्लेखित गीत हो यो । उक्त पुस्तक कर्नाली (कर्णाली) को विगत, वर्तमान र भविष्यलाई केन्द्रमा राखेर लेखिएको छ । अझ भन्नुपर्दा रोकायाले हिजोको कर्नालीलाई पुस्तकमा प्रस्टसँग चित्रण गरेका छन् ।

आइतबार उक्त पुस्तकमाथि वीरेन्द्रनगरमा परिचर्चा गरियो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले कर्नाली नेपालको शीर हो र कर्नालीको अर्काे नाम ‘सुवर्णभूमि’ भएको बताए ।

सिंहले कर्नालीको इतिहास गर्भिलो रहेको उल्लेख गरे । उनले भने, ‘कर्नाली हिजोदेखिनै विद्रोही थियो । इतिहास गर्भिलो छ, भाषा र सभ्यता कर्नालीले नै लिएको हो ।’

सिंहका अनुसार अहिले हामीले बोलिरहेको भाषा कर्नालीबाटै सुरु भएको हो । उनले किताबमाथि विश्लेषण गर्दै भने, ‘प्राचीन–मध्यकालमा कर्नाली सुनौलो युगमा थियो । तिब्बतबाट सिल्क रोड भइ आउँदा सुर्खेत र अर्कोतर्फबाट बुटवल दुई वटा अन्तर्राष्ट्रिय व्यापारिक नाका थिए । यहाँ तिब्बतबाट सुन ल्याउँथे, व्यापारमा विकसित थियो ।’

रोकायाले पुस्तकमा गर्विलो इतिहास भएको कर्नाली कसरी गरिबीको दु्ष्चक्रमा पुग्यो भन्ने अनुसन्धानमुलक विषय लेखेका छन् ।

लेखक तथा बालरोग विशेषज्ञ डा.नवराज केसी ‘कर्नालीको मर्म’ जीवनशालामा पढिने पुस्तकका रुपमा व्याख्या गरे । ‘कर्णालीलाई बुझ्न चाहनेहरुका लागि निकै महत्त्वपूर्ण छ,’ उनले भने, ‘कर्नालीको विगत गौरवमय छ ।’

प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र बहादुर शाही उक्त पुस्तकमा कर्नालीको लोक साहित्य, इतिहास र विकासका कुरा उल्लेख गरिएको बताउँछन् । शाहीले भने, ‘कर्नाली कुनै बेला समृद्ध थियो, मध्यकालीन समयमा पनि कर्णाली समृद्ध नै थियो । अब संघीयतापछि कर्नालीलाई एउटा अवसर छ ।’

लेखक रोकायाले हिजो नुनदेखि सुनसम्म पाउने कर्नालीमा अहिलेको राजनीतिले घाम लाग्न नसकेको चर्चा पुस्तकमा गरेका छन् । उनका अनुसार कर्नालीलाई प्राचीन कालमा हिमवतखण्डका रुपमा चिनिने र तेत्रा युगमा प्रकाण्ड ऋषिमुनिहरुको अध्ययन केन्द्रमा रुपमा थियो । मध्यकालमा खस राज्यको प्रभाव विस्तार हुने समयमा सिंजा ग्रीष्मकालीन र दुल्लु शीतकालीन राजधानी बनाइएको उनले उल्लेख गरेका छन् ।

परापूर्वकालदेखि कर्नाली नदी आसपार भएर हिमालदेखि तराईसम्म व्यापार हुने गर्दथ्यो । ‘उक्त व्यापारिक मार्ग आजको चीनको गुगेदेखि भारतको दिल्लीसम्म थियो, जो चीनको चर्चित रेशम मार्गसँग जोडिएको थियो,’ पुस्तकमा भनिएको छ, ‘प्राचीन र मध्यकालमा व्यापारका कारण कर्नाली क्षेत्र सुवर्णभूूमिको रुपमा परिचित थियो ।’

पुस्तकमा कर्नाली सभ्यता र सम्पन्नताको अध्याय पार गरेको कर्नाली कसरी कमजोर बन्न पुग्यो भन्ने कुुराहरुलाई पनि समेटिएको छ । लेखक रोकायाका अनुसार विगतमा कर्नाली किनारै किनार दक्षिणको दिल्लीदेखि उत्तर मनासरोवर कैलाशसम्म पुग्ने गरिन्थ्यो र त्यस समय व्यापार भएकाले कर्नालीमा जे खोज्यो त्यही पाइन्छ भन्ने गरिन्थ्यो ।

जुन दिन पृथ्वीनारायण शाहले भारतका व्यापारीलाई नेपालमा पस्न नदिनु भन्ने दिव्य–उपदेश दिए, यस नीतिले नेपालको व्यापारमा हानि भएको सो पुस्तकमा उल्लेख छ । पृथ्वीनारायण शाहले तिब्बत पठाएको एउटा चिठीमा नेपालबाट कुनै महङ्गा सामान जान नदिनु र तिब्बतबाट पनि त्यस्ता सामानको आयात नगर्नु, भारतसँग कुनै सम्बन्ध नराख्नु भन्नुले नेपाल खासगरी कर्नालीलाई व्यापारमा घाटा भएको रोकायाले उल्लेख गरेका छन् ।

साथै पुस्तकमा संघीयतापछि कर्नालीलाई कसरी विकसित गर्न सकिन्छ भन्ने खाका पनि प्रस्तुत गरिएको छ ।

रातोपाटीबाट