जुम्लाका ग्रामिण क्षेत्रका गाउँमा सडक पुगेपछि स्थानीयलाई सुगमको आभास गर्न थालेका छन्। वृद्धवृद्धा खुसी छन्। यातायातको सुविधा पुगेपछि शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच बढेको छ। कुनै बेला १५ दिन हिँडेर मुगुको (भोट) मुगु र को नाकाबाट नुन ल्याएका यहाँका स्थानीय अहिले घरआँगनमै नुन किन्छन्न्।
‘घाम, पानी, भोक निद्रा केही नभनी मुगुको भोटबाट पुगेको सम्झँदा अहिले पनि थकान महसुस हुन्छ,’ जुम्लाको चन्दननाथ नगरपालिका–१० गैरा गाउँका तुलाराम न्यौपाने (६६)ले भने, ‘हाम्रो गाउँमा गाडी आउँछ भन्दा त कथा सुनाएजस्तो लाग्थ्यो। यस्तो विकटमा गाडी आउला भन्ने लागेकै थिएन।’
घरबुना लुगा, बख्खु र खुट्टामा दोचा लगाउने गरेका उनीहरूको अहिले जीवनशैली पनि परिवर्तन भएको छ। त्यसका साथै समय बदलिएसँगै उनीहरूको पेसा पनि परिवर्तन भएको छ।
‘१५ दिनसम्म बाटोमा खाने चामल दाल, असुरो, ढोकाया र फापरको पिठो बाट बन्ने ढ्यासु स्थानीय महँसँग मिसाएर खाने गरिन्थ्यो। घरबाट जौं, गहुँ र स्थानीय मार्सी चामल साटेर भोटको नुन ल्याउथ्यौं । यो २०३९ सालअगाडिको कुरा हो। केही पैसा हुनेले दुई रूपैयाँ केजी नुन किनेर ल्याउँथ्यौं,’ त्यो वर्षभरि खान पुग्थ्यो,’ उनले भने, ‘यहाँको पुरानो पुस्ता नुन ल्याउन त्यहाँसम्म पुग्थ्यो। नुन लिन जाँदा बाटोमा वर्षा भएर अलपत्र परेको सुनाउँदै तुलाराम न्यौपाने अहिलेको पुस्तालाई भाग्यमानी ठान्छन् । यता सिंजा गाउँपालिका–६ का ५९ वर्षीया मोतिराम रावतले भने, ‘एकपटक गाउँका नौजना नेपालगन्ज गएका थियौं। वारिपारि खोलाको पानी बीचमा हामी थियौं।
आफू बाँच्नलाई नुन फ्याँक्यौं। जोखिम मोलेर हामी बाँचेका हौं,’ रावतले पुराना दिन सम्झिए, ‘उनका अनुसार पछिल्लो पुस्ता सुर्खेत दैलेखसम्म पुगे, अहिले आँगनमै पुग्यो।’
घरबाट निस्केपछि कहाँ पुग्यो, अवस्था के छ भन्ने जानकारी परिवारमा हुँदैनथ्यो। ‘घरबाट निस्केको दिन बाटोमा केही नभए फेरि भेट होला, चिन्ता नगर्नु, भगवान्ले साथ दिए नुन ल्याएर घरमै फर्किउँला भन्दै बाँच्ने झिनो आशा बोकेर सहर जान्थ्यौं,’ उनले भने, ‘१५ दिनसम्म हामी बाटोमै हुन्थ्यौं। घरका परिवार चिन्तामा डुब्थे।’ अहिले उनीहरू जति सायदै कोही खुसी होलान्।
सडकको पहुँचसँगै अन्य विकास गाउँ भित्रिएको स्थानीयको बुझाइ छ। जुम्लाको कुना कन्दरामा सडक पुगेपछि गाउँलेमा खुसीको सीमा छैन । ७४ वर्षीय स्थानीय बाँचे बुढालाई बाटो बन्ला र गाउँमा गाडी पुग्ला भन्ने लागेको थिएन। अहिले उनकै अगाडि गाडी कुद्छ।
यो देखेर उनी दंग पर्छन्। ‘यही जुनीमा यहाँसम्म बाटो बन्छ र मोटर देख्न पाउँला भन्ने लागेकै थिएन। तर मेरो सपना पूरा भयो,’ उनले भने।
उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानु पथ्र्यो, बाटोमा चोर लाग्ने गर्थे, निकै डर पनि हुन्थ्यो, महिला केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो,’ बुढाले भने, ‘अहिले त बिहान सररर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कसले सोचेको थियो होला र?’ उनले अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनुपर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोला फेरिएको जस्तो भएको बताए।
‘पहिलेको दुःखलाई सम्झिँदा त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन?, अहिले कस्तो भयो?, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ,’ उनले भने, ‘अहिले त सबथोक छ, के छैन?, उति नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ।
‘जुम्ला पहिलोपटक २०६३ सालमा सडक पुगेको थियो। अहिले जुम्लाका ६० वटै वडामा कच्ची सडक पुगेको छ। विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौं संघर्षपछि बल्ल अहिले गाउँसम्म बिजुली बत्ती र सडक पुगेको छ।
स्थानीयले सडक पुगेपछि दशकपहिले पाएका दुःख बिर्सेका छन् । जीवनशैली बदलिएको छ । पुरुषको तुलनामा महिलाका सुखका दिन फर्किएका छन्। पहिले सडक आयो, त्यसपछि स्वास्थ्य चौकी स्थापना भयो, विस्तारै गाउँमै मेडिकल खुल्न थाले।
अहिले त तरकारी लगाएर बेच्दा वा अरू काम गरे पनि पैसा कमाउन गाह्रो छैन। काम गर्न सक्नुपर्यो,’ ८७ वर्षीय स्थानीय महिला प्याउरी रोकायाले भनिन्, ‘पाँच हातको धोती लगाउन पाए केके न पायौंजस्तो लाग्थ्यो। अहिले त सहरबजारका लुगा आफ्नै आँगनमा पुगे।’