☰ open Loading... 17 May 2024|  

वडाध्यक्षलाई कार्यपालिका बैठकमा बस्न रोक
पश्चिम नेपाल   | ५ फाल्गुन २०८०, शनिबार १४:५८

रास्कोट नगरपालिका वडा ४ का अध्यक्ष दिनेश सज्याललाई कार्यपालिका बैठकमा बस्न रोक लगाइएको छ।

रास्कोट मेयर प्रमुख धर्मराज शाहीले जनयुद्ध दिवसका दिनमा वडा कार्यालय खुला गरेको र बिदा नगरेको भन्दै कार्यपालिका बैठकमा बस्ने अधिकार नभएको भन्दै बाहिर जान आदेश दिएका छन्।

फागुन १ मा रास्कोट नगरपालिकाले नगरभरि सार्वजनिक बिदा दिएको थियो भने वडा नं ४ मा भने वडाध्यक्ष दिनेश सज्यालले एक पार्टीको उत्सव भएको भन्दै सार्वजनिक बिदा नभएको विज्ञप्ति जारी गरेका छन्। उक्त विज्ञप्तिलाई आधार बनाएर बिहीबार बसेको रास्कोट नगर कार्यपालिका बैठकमा सज्याललाई बस्न रोक लगाइएको हो।

नगरको निर्णय नमान्ने तपाईंलाई बैठकमा बस्ने अधिकार छैन भन्दै नगर प्रमुख शाहीले हप्काएका थिए। सँगै माओवादीबाट निर्वाचित वडाध्यक्षहरूले पनि यो नगर हाम्रो हो भन्दै कार्यपालिका सदस्यबाट राजीनामा दिनू भनेका थिए।

वडा ४ का अध्यक्ष सज्याल नेपाली कांग्रेसबाट निर्वाचित एक्ला वडाध्यक्ष हुन्। उनले आफू जनताको मत पाएर आएकाले मैले किन बस्न नपाउने भन्दै प्रतिवाद गरेको बताए। उनले सामाजिक सञ्जालमा एक्लो वडाध्यक्ष हुनुको पीडा आज भोगेको उल्लेख गरेका छन्।

अध्यक्ष सज्यालले भने, ‘आफूलाई सुरुमा बैठकमा बोलाइएन। एकजना सदस्यले बैठक भइरहेको छ जानू भनेपछि म हलमा पुगेँ। हातमा माइनोट आयो। उपस्थिति जनाएपछि मेयरज्यूले ल जानुहोस् बैठकमा बस्ने अधिकार छैन भन्नुभयो।’

वडाध्यक्ष सज्यालले फेरि भने, ‘मलाई नगर प्रवक्ता तथा वडा  ९ का अध्यक्ष धनबहादुर धामीले वडामा किन बिदा नदिएको भन्दै माफी माग्न धम्की दिएका थिए। एक्लो मान्छे कतिसँग बोल्नु ? सकेजति प्रतिवाद गरेँ।’ रास्कोट नगरपालिकाभित्रका नौ वडामा सात वडा र नगर प्रमुख माओवादी केन्द्रबाट निर्वाचित भएका छन्।

उनको बहुमत भएकाले जस्तासुकै निर्णय गर्ने र अन्य दलबाट निर्वाचित जनप्रतिनिधि जबर्जस्त चुप बस्नुपर्ने अवस्था छ। अदालतले खारेज गरेको जनयुद्ध दिवस सरकारले मनाउनु कानुनको अपहेलना हुने भन्दै वडा ४ का अध्यक्षले बिदा नभएको प्रेस नोटमार्फत जानकारी गरेका थिए।

यस विषयलाई लिएर नगरको बैठकमा समेत बस्ने अधिकार नभएको भन्दै धम्कीसमेत दिने गरेका हुन्। नगर प्रवक्ता तथा वडा ९ का अध्यक्ष धनबहादुर धामीले कार्यपालिका बैठकको निर्णय सदस्यले उल्लंघन गर्ने अधिकार नभएको भन्दै बैठकमा बस्ने पनि अधिकार नहोला नि त भनेर बैठकपछि कुरा चलेको तर बैठकमै बस्न रोक नलगाएको बताए।