स्वास्थ्य निर्देशनालय गण्डकीले फागुन १३ देखि चैत ७ गतेसम्म दादुरा-रूबेला खोप अभियान सञ्चालन गर्ने भएको छ।
अभियान सफल पार्न गण्डकीका ९ वटा जिल्लामा ५ हजार ७ सय ७८ जना स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार गण्डकीका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिनेछ। मनाङ र मुस्ताङका अधिकांश बासिन्दा जाडो छल्न बेसी झरेका कारण दोस्रो चरणमा खोप अभियान चलाइने भएको हो।
गण्डकीका अन्य जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ भने नवलपुरमा १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइनेछ। भारतसँग सिमाना जोडिएको नवलपुरमा दादुरा रूबेला रोगको उच्च जोखिम भएकाले १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने निर्णय गरिएको छ ।
खोप लगाउन गण्डकीमा २ हजार ८ सय ८९ वटा खोप केन्द्र सञ्चालन गरिनेछ।
पश्चिम नेपाल | ११ फाल्गुन २०८०, शुक्रबार ०६:२३