☰ open Loading... 25 November 2024|  

कर्णाली एक्सपो सञ्चालन गर्न अदालतले दियो अनुमति
पश्चिम नेपाल   | १४ फाल्गुन २०८०, सोमबार १८:२८

सुर्खेतमा सञ्चालन गर्न लागिएको कर्णाली एक्सपो-२०८० सञ्चालनका लागि बाटो खुलेको छ । महोत्सव सञ्चालका बारेमा यसअघि उच्च अदालतत सुर्खेतमा परेकाे रिटमा अदालतले साेमबार दिएको आदेशपछि एक्सपो सञ्चालनको बाटो खुलेको हो ।

सोमबार उच्च अदालतका मुख्य न्यायाधीश लोहित चन्द्र शाह र न्यायाधीश खड्क बहादुर केसीको संयुक्त इजलासले कानुनबमोजिम एक्सपो सञ्चालनको कार्य गर्न आदेश दिएको हो ।

‘तेस्रो कर्णाली एक्सपो २०८० फागुन १४ देखि २२ गतेसम्म सञ्चालन हुने स्थल खेलमैदान, मेला र महोत्सव गर्ने भन्ने रहेको र बालमन्दिर विद्यालयको पठन पाठन सकिएर मिति चैत १ गतेदेखि परीक्षा सञ्चालन हुने भन्ने देखिँदा यस अदालतबाट मिति भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन। कानुन बमोजिम गर्नू ।’ आदेशमा भनिएको छ ।

यसअघि अधिवक्ता प्रकाशबाबु ऐडीले वीरेन्द्रनगर नगरपालिकालाई विपक्षाी बनाएर तेस्रो कर्णाली एक्सपो-२०८० सञ्चालन नगर्न अन्तरिम आदेश माग गर्दै रिट हालेका थिए । उक्त रिटमा फागुन ११ गते उच्च अदालतले महोत्सव रोक्न अल्पकालिन आदेश जारी गरेको थियो ।

सोमबारको ईजलासमा निवेदकका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, रिट निवेदक अधिवक्ता प्रकाशबाबु ऐडी, अधिवक्ताहरु दुर्गाप्रसाद सापकोटा, मातृकाप्रसाद खनाल, गीता कुमारी कोइराला, विनोदमणि भट्टराई, लबन न्यौपाने र शेरबहादुर खत्रीले बहस गरेका थिए ।

रिट निवेदनमा विपक्षी बनाईएको वीरेन्द्रनगर नगरपालिका लगायतको तर्फबाट अधिवक्ता कृष्णबहादुर हमाल, ध्रुबकुमार श्रेष्ठ र उत्तमप्रसाद आचार्यले बहस गरेका थिए ।