☰ open Loading... 22 October 2024|  

कर्णाली प्रदेश स्तरीय महिला सम्मेलन हुँदै
पश्चिम नेपाल   | २० फाल्गुन २०८०, आईतवार ०५:१६

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सुर्खेतमा कर्णाली प्रदेश स्तरीय महिला सम्मेलन हुने भएको छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सोमबार पर्सी वीरेन्द्रनगरको सिटीहलमा महिला सम्मेलन हुन लागेको हो । सम्मेलनको प्रमुख अतिथिका रूपमा नेपालका पूर्व राष्ट्रपति विधादेवि भण्डारीको सहभागिता रहने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति भएकाले विभिन्न ठाउँमा नेतृत्व गरिरहेका महिलाहरूका लागि प्रेरणा बन्न सक्ने हुँदा प्रमुख अतिथिका रूपमा बोलाईएको उनले बताइन् । सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाका उपप्रमुख तथा महिलाले नेतृत्व गरेका स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको छ ।

यस्तै कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सदस्यहरुका साथै वीरेन्द्रनगर नगरपालिकामा रहेर विभिन्न क्षेत्रमा नेतृत्व गरेका महिलाहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको छ ।कार्यक्रममा आमा समूहदेखि पूर्व राष्टपति महिलाको सहभागिता रहने नगर प्रमुख ढकालले जानकारी दिइन् । उहाँका अनुसार महिला स्वास्थ्य स्वंसेविका, आमा समूह, टोल विकास संस्था, विभिन्न उपभोक्ता समिति, समूह, संस्था सहकारी, कार्यालयको नेतृत्वमा रहेका महिलाहरुगरी करिब एक हजार जनाको सहभागिता रहनेछ । सम्मेलनलाई नेतृत्वमा वसेका महिलाहरुका लागि प्ररणाका साथै महिला बालबालिकाका क्षेत्रमा स्थानीय तहले गरेका राम्रा अभ्यासको सिकाई आदान प्रदान गर्ने अवसरका रुपमा लिएको ढकालको भनाई छ । हरेक बर्ष अंग्रजी महिना मार्च ८ तारेखका दिन अन्र्तराष्टिय श्रमिक महिला दिवस मनाइने गरिएको छ ।