☰ open Loading... 17 May 2024|  

कर्णालीको मुख्यमन्त्रीमा फेरि रस्साकस्सी
पश्चिम नेपाल   | २५ फाल्गुन २०८०, शुक्रबार ०९:१२

संघमा सत्ता समीकरण बद्लिएसंगै कर्णाली प्रदेशमा पनि नयाँ समीकरण बन्ने भएको छ । नयाँ सत्ता गठबन्धनमा रहेका दलहरुबीच प्रदेश सरकारको अहिलेकै नेतृत्वलाई निरन्तरता दिने वा नयाँ चयन गर्ने भन्ने विषयमा रस्साकस्सी सुरु भएको छ ।

कर्णालीको मुख्यमन्त्रीमा फेरि रस्साकस्सी
यसअघि सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले मंगलबार राजीनामा दिइसकेका छन् । बुधबार उनीहरुको राजीनामा स्वीकृत गरी ती मन्त्रालयको कार्यभार मुख्यमन्त्री राजकुमार शर्मा आफैँले लिएका छन् ।

मुख्यमन्त्री शर्मा माओवादी केन्द्रका नेता हुन् । केन्द्रको गठबन्धनअनुसार ती नै दलले मिलेर सरकार बनाउने निश्चित भएपनि मुख्यमन्त्रीमा शर्माको निरन्तरता वा बहिर्गमन भन्ने विषयमा भने दलहरुबीच मतभेद देखिएको छ । मुख्यमन्त्री शर्मा आफैँलाई निरन्तर गर्ने प्रयासमा लागेका छन् भने अर्को दल एमाले आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा लागेको छ ।

दुवै पार्टीका नेताहरुले पार्टीभित्र लबिङ थालेका छन् ।

गत वर्ष पुस १० मा माओवादी केन्द्र, एमालेसहितको गठबन्धन बनेपछि एमाले र माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको थियो । त्यसै अनुरुप माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादी र तीन मन्त्रालय एमालेले पाउने गरी भागबण्डा भएको थियो । तर फागुनमा कांग्रेस, माओवादी र समाजवादीसहित बनेको नयाँ गठबन्धनमा एमालेलाई दिइएका तीन मन्त्रालय दिएर माओवादीले कांग्रेसलाई सरकारमा लियो ।

एमालेले भने अहिलेसम्म कर्णालीमा सरकारको नेतृत्वमा नपुगेको भन्दै पार्टीभित्र जसरी पनि मुख्यमन्त्री लिने गरी दबाब बढाएको छ । एमाले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले यसपटक सरकारमा सहभागी नभएर नेतृत्व गर्ने सोचका साथ एमाले अघि बढेको बताए । ‘मुख्यमन्त्रीमा एमालेको शशक्त दाबी छ,’ उनले भने ।

उनले प्रदेशमा एमालेको नेतृत्व परीक्षण समेत हुन नपाएको बताए । ‘यसअघि माओवादी र कांग्रेसले नेतृत्व लिएर परीक्षण भइसकेको छ । अब जनताले पनि कर्णालीमा एमालेको नेतृत्व चाहेका छन् । हाम्रो पनि यही चाहाना हो,’ उनले भने, ‘केन्द्रको नेतृत्वलाई पनि कर्णालीमा एमालेको नेतृत्वको लागि कुरा पुर्‍याएका छौँ ।’

कर्णालीमा एमालेले नेतृत्व पाएमा संसदीय दलका नेता यामलाल कडेँललाई मुख्यमन्त्रीकोरुपमा अगाडि सार्ने तयारी छ ।

यता माओवादी केन्द्रले भने अहिले आफ्नै नेतृत्वमा सरकार अघि बढ्ने दाबी गरेको छ ।

‘अहिले यही सरकारको निरन्तरता हुन्छ । कर्णाली माओवादीको आधार इलाका नै हो,’ माओवादी केन्द्रका प्रमुख सचेतक रणसिंह परियारले भने, ‘गठबन्धन फेरिए पनि मुख्यमन्त्री अहिलेकै निरन्तर रहनुहुन्छ ।’

उनले पार्टीमा त्यहीअनुसार कुरा भएको बताए । ४० सदस्यीय प्रदेश सभामा एमाले १० सदस्यसहित तेस्रो दल हो । कांग्रेससँग १५ र माओवादीसँग १३ सांसद छन् । राप्रपा र समाजवादीसँग १/१ सांसद छन् । कर्णालीमा बहुमतको लागि २१ सिटको आवश्यकता पर्छ ।

ईकान्तिपुरबाट