सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरी खेती छाडेर आलु खेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्।
परम्परागत बाली छाडेर आलु खेतीतर्फ लागेका किसान डडुवा रोगका कारण आलुका बोटका पात र आँख्ला सुक्न थालेपछि उत्पादन कम हुने भन्दै चिन्तित भएका हुन्। गहुँ, जौ, उवा, फापर र तोरीखेती गर्ने किसान पछिल्लो समय ती बाली छाडेर आलुखेती गर्न थालेका थिए।
म्याग्दीको बेनी नगरपालिकासहित मालिका, मंगला, अन्नपूर्ण, धौलागिरि र रघुगंगा पालिकाका किसान व्यावसायिक आलु खेतीमा लागेका कृषि ज्ञान केन्द्रले जनाएको छ। मालिका गाउँपालिका– १ निस्कोट, वडा २ रुम, ६ दरबाङ र ७ बिम तथा मंगला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत बेनी नगरपालिकाका १० वटै वडामा आलु खेती हुने गरेको छ।
अधिकांश वडाका किसान परम्परागत अन्नबाली छाडेर आलु खेतीतिर लागेका पालिकाका कृषि प्राविधिकको भनाइ छ। मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले किसानले उत्पादन गरेको आलु बजारमा सहज रुपमा बिक्री हुन थालेपछि नगदेबालीका रुपमा आलुलगायत तरकारी खेतीतर्फ किसानको आकर्षण बढेको बताए।
उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आलु खेतीतर्फ आकर्षित भएको मालिका– ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए। व्यावसायिक रुपमा आलु खेती गर्दै आएका बेनी नगरपालिका तथा मालिका, रघुगंगा र मंगला गाउँपालिकाका किसानको आलु डडुवाले सखाप पारेको कृषि प्राविधिकले बताए।
अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डडुवा समस्या फैलिएको हो। आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए। रघुगंगा– ६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि डडुवा फैलिएको ठाडाखानीका किसान टेकबहादुर छन्त्यालले बताए।
खेती गर्दा ध्यान दिने र प्राविधिकको सल्लाहअनुसार समयमै खेतीको रेखदेख गर्ने गरेमा रोग किरा लाग्नबाट आलु बचाउन सकिने कृषि प्राविधिकको भनाइ छ। म्याग्दीमा व्यावसायिक रुपमा एक सय हेक्टर बढी क्षेत्रफलमा आलु खेती गरिएको छ। आलु सुपरजोन र स्थानीय पालिकाको साझेदारीमा बीउ अनुदानमा पाई किसानले करिब एक हजार क्विन्टल आलुको बीउ लगाएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
पछौटे डडुवा आलु खेतीमा लाग्ने रोगमध्ये प्रमुख रोग भएको कृषि प्राविधक बानियाँले जानकारी दिए। उनका अनुसार यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष विकराल रूपमा बढिरहेको छ। पहाडी जिल्लामा पनि बर्सेनि यो रोगको प्रकोप बढिरहेको छ भने तराईका जिल्लामा महामारीका रुपमा फैलिएको छ। यसको संक्रमण सुरुको अवस्थामा पातमा हल्का हरियो रङका विभिन्न आकारका थोप्ला देखिने कृषि प्राविधिक बानियाँले बताए।
उनका अनुसार अनुकुल वातावरण पाइरहेमा थोप्लाको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ। ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेराजस्तो देखिन्छ। रोग बढी हुँदै गयो भने पूरै पात सुकेर डढेजस्तो हुन्छ भने अनुकूल वातावरण भइरहे पात, काण्ड, डाँठ र दानामा समेत संक्रमण हुने उनको भनाइ छ।
‘फाइटफथोरा इन्फेस्टेन्स’ नामक ढुसी नै यो रोगको प्रमुख कारकतत्व भएको विशेषज्ञले बताएका छन्। यस प्रजातिका ढुसीमध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाति नेपालमा पाइएका छन्। लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बीउ तथा माटोको माध्यमबाट यो रोग देखापर्ने विशेषज्ञको भनाइ छ।
म्याग्दीमा आलु मौसममा प्रतिकिलो ५० देखि ७० सम्ममा बिक्री हुन्छ भने बेमौसममा ८० देखि एक सयसम्ममा बिक्री गर्न सकिने किसानको भनाइ छ। आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा स्थानीय पालिका तथा कृषि ज्ञान केन्द्रले सहयोग गर्न आवश्यक रहेको किसानको माग छ।