☰ open Loading... 17 May 2024|  

नक्कली औषधि बिक्रेता पक्राउ, पसल सिल
पश्चिम नेपाल   | २६ फाल्गुन २०८०, शनिबार ०९:१४

बाँकेको डुडुवा गाउँपालिका–६ स्थित चौधरिपुर्वाबाट नक्कली औषधि बिक्रेतालाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले पक्राउ गरेको छ । आरोपीलाई पक्राउ गरेर पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा विकाश लखेर छन् । उनले औषधि बिक्री गर्ने योग्यताको प्रमाण पत्र देखाउन सकेका छैनन् । उनको पसल दर्ताबिना नै सञ्चालन गरेको अनुगमनबाट फेला परेको छ । पसलमा करिब ७५ प्रतिशत औषधी म्याद गुज्रिएको अवस्थामा भेटिएको छ ।

म्याद गुज्रिएको भन्दा बाहेकका औषधिहरूको उपयोग म्यादमा हातले नै ‘ओभर राइट’ गरेको फेला परेको प्रजिअ पोखरेलले बताए । उपयोग गर्न निषेध गरिएको भिगो ट्रप्पल एक्स, डर्मिकेम र कम्बिनेसनमा भएका अन्य औषधिहरू पनि सो पसलमा बेच्ने गरेको भेटिएको छ । अनुमति बिना सञ्चालित पसल जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरेर आरोपीलाई कानुन बमोजिम कारबाही गरिने प्रजिअ पोखरेलले जानकारी दिए ।