☰ open Loading... 17 May 2024|  

कर्णाली पुलमा दुई दिनदेखि सवारी साधन बन्द
पश्चिम नेपाल   | ३० फाल्गुन २०८०, बुधबार १४:४९

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा दुई दिनदेखि सवारी साधन बन्द गरिएको छ। सोमबार आगलागीबाट भएको क्षतिका कारण आवतजावत बन्द गरिएको हो।

प्राविधिक टोलीले जाँच गरेपछि मात्र क्षतिको अवस्था हेरेर सवारी साधन सुचारु गर्ने सम्बन्धमा निर्णय गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा एवं ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक राजीव बस्नेतले बताए। दुई दिनदेखि पुलमा सवारी साधन बन्द हँुदा सवारी साधन टीकापुरबाट बर्दियाको राजापुरको बाटो हँुदै आहोरदोहोर गरिरहेका छन्।

‘प्राविधिक टोलीले आज पुलमा जाँच गरिरहेको छ। प्राविधिक टोलीको जाँच पछि मात्र पुलमा सवारीसाधन चलाउने विषयमा टुंगो लाग्ने छ’, उनले भने। एम्बुलेन्सलाई भने पुलमा ओहोरदोहोर गर्न दिइएको उनले बताए।

विरगन्जबाट कञ्चनपुरतर्फ आइरहेको लाइटर बोकेको ना ५ ख ५२९७ नम्बरको गुडिरहेको ट्रकमा सोमबार साढे चार बजेतिर एक्कासि आगलागी भएको थियो।

गुडिरहेको लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी हुँदा आगो पुलको लट्ठामा सल्किएको थियो। आगोले ट्रक पुरै जल्दा ट्रक तल रहेको पुलको भागमा समेत क्षति हुन पुगेको थियो। आगलागीबाट क्षति पुगेका कारण पुलमा सवारी साधन चलाउन बन्द गरिएको थियो।

नेपालको सबैभन्दा लामो पुलमध्येको एक रहेको कर्णाली पुलले सुदूर पश्चिम प्रदेशलाई देशको अन्य भागसँग जोड्ने गर्दछ। २०५१ सालमा बनेको कर्णाली पुल तार पुल हो। यसको बीचमा ठूलो खम्बा छ र यसमा स्टिलका तार बाँधेर ट्रस अड्याइएको हुन्छ। यो सय मिटर लामो तथा १० मिटर चौडाइ छ।

बीचको खम्बाको एक भागतिर ३ सय २५ मिटर छ भने अर्को भागतिर १ सय ७५ मिटर छ। यो पुल निर्माणमा ३ हजार ८ सय ७० टन स्टिल प्रयोय गरिएको बताइएको छ। यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।

कर्णाली पुल बन्नुअघि सुदूरपश्चिमका वासिन्दा काठमाडौंलगायत देशका अन्य भूभागमा ओहोरदोहोर गर्न भारतको बाटो प्रयोग गर्ने गरेका थिए। जीर्ण बन्दै गइरहेको अवस्थामा कर्णाली पुलमा आगलागीले पनि क्षति पु¥याएपछि स्थानीय चिन्तित बनेका छन्।