☰ open Loading... 23 October 2024|  

बचत फिर्ताको माग गर्दै सहकारी पीडित आन्दोलित
पश्चिम नेपाल   | १ चैत्र २०८०, बिहीबार २०:५५

काभ्रेकी ७० वर्षीया महालक्ष्मी महर्जनले अनेक दुःख गरेर परस्पर बचत तथा ऋण सहरकारी संस्थामा २ लाख रुपैयाँ जम्मा गरिन् ।

बुढेसकालमा सजिलो होला भनेर उनले सहकारीमा बचत गरेको रकम फिर्ता नपाएपछि रुँदै सडकमा आइपुगेकी छन् ।

‘सञ्चालकहरु अफिसमा ताला लगाएर भागेका छन्, एक्लो बुढीमान्छे कहाँ खोज्न जाऔं’, उनले दुखेसो पोखिन् ।

सहकारीबाट पैसा फिर्ता आउने आशामा उनी बिहीबारदेखि काठमाडौंमा सुरु भएको सहकारी पीडितको आन्दोलनमा सहभागी भएकी छन् ।

काठमाडौं कालिमाटीकी राधा महर्जनले खुसी सहकारीमा गरेको बचत फिर्ता नपाएपछि उनको परिवारको खुसी नै खोसिएको छ ।

छोरीले दुबई गएर कमाएको करिब साढे ८ लाख रुपैयाँ उनले सहकारीमा बचत गरेकी थिइन् । ‘छोरीको पसिना सहकारीले खाइदियो । ऊ अहिले रुँदै फोन गर्छे’, राधा भन्छिन्, ‘त्यत्रो पैसा खाइदिएपछि मर्नु न बाँच्नु भा’छ ।’

सहकारीका कारण उनी अहिले पारिवारिक तनाव झेलिरहेकी छन् । उनी पनि बिहीबार काठमाडौंको भृकुटीमण्डपमा भएको सहकारी पीडितको आन्दोलनमा सहभागी भइन् ।

‘पैसा फिर्ता माग्दै सहकारी विरुद्ध नाजाबाजी र आन्दोलन गर्‍यौं’, राधाले भनिन्, ‘केही विकल्प नभएपछि अहिले फेरि सडकमा आएका छौं ।’

सरकारले ठगी गर्ने सहकारीलाई कारवाही गर्दै आफ्नो बचत फिर्ता गराइदिने आशामा सडकमा आएको उनले बताइन् ।

‘सरकारले भर्खरै मिटरब्याज पीडितको कुरा सुन्यो’ उनले भनिन्, ‘हाम्रो पनि समस्या सुन्ला कि भनेर सडकमा भेला भएका छौं ।’

काठमाडौंकै बुढानीलकण्ठकी कृष्णमाया श्रेष्ठले कान्तिपुर सहकारीमा २ लाख र उत्तम सहकारीमा तीन लाख गरी पाँच लाख रुपैयाँ बचत गरेकी थिइन् ।

तर एक वर्ष अघिदेखि बचत निकाल्न खोज्दा पाइनन् । ‘अध्यक्षले ब्याज सावा दिन्छु पीर नगर भन्छन्’, उनले भनिन्, ‘पैसा फिर्ता मागेको १ वर्ष भइसक्यो तर अहिलेसम्म अनेक बहाना गरेर झुलाइराखेका छन् ।’

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा देशभरिका सहकारी संस्थाबाट ठगीमा परेका पीडितहरु न्याय माग्न काठमाडौंमा भेला भएका छन् । उनीहरुले बचत फिर्ता गर्न र सहकारीका सञ्चालकलाई कारबाहीको माग गर्दै बिहीबार कालीमाटी, गोंगबु, शंखपार्क, सिफल चौर र जाउलाखेलबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरे । त्यसपछि भृकुटीमण्डपमै कोणसभा गरे ।

अनलाइनखबरबाट