☰ open Loading... 19 September 2024|  

सुप्रिम सहकारीका पाँच पदाधिकारी पक्राउ
पश्चिम नेपाल   | ४ चैत्र २०८०, आईतवार १७:५१

बुटवलको सुप्रिम सहकारीको झण्डै सवा एक अर्ब रुपैयाँ अपचलनको आरोपमा पक्राउ परेका दिपेश पुनसँगै सहकारीका सचिव कुमार रम्तेल र आइटी प्रमुख भविश्वर अर्याललाई बुटवल ल्याएर अनुसन्धान सुरू गरिएको छ।

बचतकर्ताको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई गत फागुन ४ गते नै प्रहरीले पक्राउ गरेको थियो।

सुप्रिम सहकारीका सचिव तथा पोखराको सुर्यदर्शन सहकारीका कोषाध्यक्ष समेत रहेका रम्तेल र सहकारीका आइटी प्रमुख अर्याल पनि यसअघि नै पक्राउ परेका थिए।

रम्तेल र अर्याललाई पाँच दिन पहिले बुटवल ल्याएको प्रहरीले गत शुक्रबार पक्राउ परेका सहकारीका पूर्वसचिव दिपेश पुनलाई पनि शुक्रबार राती नै बुटवल ल्याएर अनुसन्धान सुरु गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले सहकारीका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु (जिबि) राई हालसम्म फरार रहे पनि रकम अपचलनमा संलग्न अन्य पाँच जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए।

उनले सुप्रिम सहकारीका एक हजार सात सय बढी बचतकर्ताले सहकारीका पदाधिकारीले रकम अपचलन गरेको भन्दै उजुरी दिएको बताए।

रुपन्देही लगायत आसपासका १० हजार ३ सय ९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपैयाँ संकलन गरेको सहकारीले ७८ करोड ५० लाख रुपैयाँ पदाधिकारीले नै अपचलन गरेको बचतकर्ताको उजुरी छ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशले सहकारीमा बचतकर्ताको रकम अपचलन भएको बखत कोषाध्यक्ष र सचिव दुबै पदको जिम्मेवारी सम्हालेका थिए।

बुटवलमा २०५७ सालदेखि संचालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर २०७२ साल फागुन १ गते सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको नाम दर्ता गर्दा जीबी राई अध्यक्ष, ओमप्रकाश गुरुङ उपाध्यक्ष तथा दीपेश पुन कोषाध्यक्ष बनेका थिए।

२०७६ कात्तिकमा भएको सहकारीको साधारण सभाबाट राई आफू संरक्षक बने भने ओम गुरुङ अध्यक्ष, पुन सचिव तथा सुरज श्रेष्ठ कोषाध्यक्ष बनेका थिए।

सहकारीमा आर्थिक समस्या देखिएपछि भने २०७९ मंसिर २४ गते सचिव बनेका पुन र कोषाध्यक्ष श्रेष्ठले पदबाट राजीनामा दिए। त्यसपछि कुमार रम्तेललाई सचिव र आशिष आनन्दलाई कोषाध्यक्ष चयन गरिएको थियो।

सहकारीका वर्तमान अध्यक्ष लगायतका पाँच जना पदाधिकारी पक्राउ परे पनि ८७ करोड ६९ लाख ७६ हजार ७६५ रुपैयाँ आफ्ना पाँच वटा कम्पनीमा लगानी गरेका सहकारीका संरक्षक जीबी राई भने हालसम्म सम्पर्कविहीन छन्।

राईले आफू अध्यक्ष रहेकै बखत आफ्ना विभिन्न चार वटा कम्पनीका नाममा १३ करोड ७० लाख ९२ हजार २७० रुपैयाँ ऋण लगेका थिए भने गुरुङ अध्यक्ष भएपछि ५ वटा कम्पनीमा ६४ करोड ७९ लाख ८३ हजार रुपैयाँ ऋण लगेका छन्।

त्यस्तै आफैं अध्यक्ष रहेका बखत कुमार रम्तेलका नाममा पनि २ करोड ९० लाख रुपैयाँ लगेका छन्। रम्तेल तत्कालीन समयमा नेचर नेष्ट कम्पनीका निर्देशक थिए।

सहकारीबाट राई अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न ५ वटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८६०, जिपी ग्रुप एण्ड कम्पनी लिमिटेडमा विभिन्न सात वटा मितिमा गरी १४ करोड ९९ लाख ५९ हजार ५२०, स्प्रीङ उड रियल स्टेड हाउजिङ प्रालिमा तीनवटा मितिमा ६ पटक गरी १८ करोड २१ लाख ७८ हजार १८३ रुपैयाँ ऋण लगेका थिए।

त्यस्तै राई संचालक रहेको नेचर नेष्ट प्रालिमा २ करोड ८९ लाख ७१ हजार ८८५ र गितेन्द्रबाबु राईको नाममा तीनवटा मितिमा ६ करोड २० लाख ८८ हजार ४८९ रुपैयाँ गरी ७८ करोड ५० लाख ७६ हजार बढी रकम ऋण दिइएको छ।

त्यस्तै अन्य संचालक तथा विभिन्न ५२ जना ऋणीलाई दिएको २४ करोड ३ लाख ९३ हजार ७२५ रुपैयाँ पनि सहकारीले उठाउन सकेको छैन। ऋणीहरुले पनि ब्याजबापत मात्रै ३ करोड ९८ लाख १९ हजार ७७५ रुपैयाँ बुझाउन बाँकी छ।

सेतोपाटीबाट