☰ open Loading... 25 February 2025|  

ग्याङ फाइट हुँदा दुई जनाको हत्या
पश्चिम नेपाल   | १२ चैत्र २०८०, सोमबार १५:५३

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको छ।

गएराति ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुई जनाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

मृतक अन्दाजी २८ वर्षीय पूजन राई र रोबस राई छन्।

उनीहरूमाथि छुरा प्रहार भएको एसपी सुवेदीले जानकारी दिए। राति करिब ११ बजे घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि मात्रै प्रहरीलाई खबर भएको थियो।

खबरपछि प्रहरीले राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ।

छुरा प्रहारबाट एक जनाको तिघ्रा र एकजनाको छातीमा चोट देखिएको प्रहरीले जनाएको छ। प्रहरीले राति नै सिसिटिभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी गरेको थियो।

उनीहरूबीच के विषयमा झडप भएको भन्ने खुलेको छैन। प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ।

मृतक पूजन पाँचथर घर भई खुमलटार बस्ने र रोबस धरान घर भई ढोलाइटी बस्दै आएको प्रहरीले जनाएको छ।

रोबसको शव पाटन अस्पतालमा राखिएको छ भने पूजनको शव सुमेरु अस्पतालमा छ । पोस्टमर्टममा लागि पूजनको शव पनि पाटन अस्पताल नै लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।