☰ open Loading... 24 October 2024|  

२०७३ देखि पैसा नतिरेको भन्दै वीरेन्द्रनगरका सडक बत्तीको लाईन काट्न सुरु
पश्चिम नेपाल   | १३ चैत्र २०८०, मंगलवार १८:१८

सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले सडक बत्तीको मात्रै ५ करोड बढी बक्यौता तिर्न बाँकी रहेको पाइएको छ ।
२०७३ सालदेखि यता नगरपालिकाले सडक बत्तीको ५ करोड ३० लाख रकम बक्यौता रकम नबुझाएको हो ।
वक्यौता रकम नदिएको भन्दै नेपाल विद्युत प्राधिकरण सुर्खेतले वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका सडक बत्तीको लाइन आजदेखि काट्न शुरु गरेको छ ।
पटक–पटक ताकेता गर्दा पनि वीरेन्द्रनगर नगरपालिकाले बक्यौता रकम नदिएपछि सडक बत्तीको लाइन काट्न बाध्य भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।
सडकबत्तीको महसुल तिर्न पटक पटक ताकेता गर्दा पनि भुक्तानी नपाएपछि लाइन नै काट्नुपर्ने बाध्यता भएको वितरण केन्द्र सुर्खेतका प्रमुख अशोक लोहनीले जानकारी दिनुभयो । “म असोजको महिना यहाँ आएपछि पत्राचार गरेर विद्युत महसुल बुझाउन ताकेता गरेँ,” प्रमुख लोहनीले भन्नुभयो, “दुई÷दुई पटक पत्राचार गर्दा पनि केही सुनुवाई नभएपछि आजदेखि सडक बत्तीको लाइन काट्न शुरु गरेका छौँ ।”
उहाँका अनुसार २०७३ सालदेखि यता वीरेन्द्रनगर नगरपालिकाले सडक बत्तीको ५ करोड ३० लाख बक्यौता रकम बुझाउन बाँकी छ ।
पहिलो चरणमा मिटर जडान नगरेर बालिएका सडक बत्तीको लाइन काट्न शुरु गरिएको भन्दै उहाले यो प्रक्रिया निरन्तर चल्ने बताउनुभयो ।
बक्यौता रकम नउठेसम्म सबै सडक बत्तीहरुको लाइन काटिने उहाको भनाई छ ।
सडक बत्ती मात्रै नभएर बक्यौता रकम नबुझाउने १७ सय ग्राहकको लाइन काटिएको भन्दै सडक बत्ती बाहेक अन्य पाँच करोड रकम उठाउन बाँकी रहेको उहाले जानकारी दिनुभयो ।
यता, वीरेन्द्रनगर नगरपालिकाले बक्यौता रकम दिने दायित्व नगरपालिकाको नभएको भन्दै यस विषयमा नगरसभाबाट निर्णय गरेर अगाडी बढिने प्रतिक्रिया दिएको छ ।
नगर उप–प्रमुख निलकण्ठ खनालले प्राधिकरणले पनि विद्युत पोलको भाडा नगरपालिकालाई दिनुपर्ने भन्दै बक्यौता रकमको दायित्व नगरपालिकाको हुने नहुने केही स्पष्ट नरहेको बताउनुभयो । उहाले भन्नुभयो, “नगरपालिकालाई पनि प्राधिकरणले विद्युत पोलको भाडा दिनुपर्छ, यदी त्यसो हुन नसके वा कुरा नमिले कानुनी उपचारमा जाने बाटो त छदै छ ।”

संकल्पबाट