☰ open Loading... 30 April 2024|  

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि
पश्चिम नेपाल   | २२ चैत्र २०८०, बिहीबार १३:१६

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए।

प्रतियोगिताको उद्घाटन चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार हुने छ। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने छ। पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुने छ। पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुने छ।

प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने छ। प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ। टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ।

प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगिताको समापन वैशाख १ गते गौरीटार रंगशालामा हुने छ।