☰ open Loading... 1 May 2024|  

डीएसपी बढुवामा पनि लत्याइयो मापदण्ड, शक्तिकेन्द्र हाबी
पश्चिम नेपाल   | २२ चैत्र २०८०, बिहीबार १३:२३

काठमाडौँ । नेपाल प्रहरीको डीएसपी बढुवामा पनि शक्तिकेन्द्र हाबी भएको छ । शक्तिकेन्द्रमा पहुँच हुनेहरू कारबाहीमा परेको भए पनि प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

बुधवार राति बढुवा समितिले १९ जना निरीक्षकलाई नायव उपरीक्षकमा बढुवा गर्न सिफारिस सूची प्रकाशन गरेको छ । सूचीको अन्तिम नम्बरमा छन्, कमलकुमार खड्का । बढुवा सिफारिस भएका १८ जनामध्ये उनले ४ वर्षपछि इन्स्पेक्टरको आधारभूत तालिम गरेका हुन् । तर, शक्तिकेन्द्रको दबाबमा उनी बढुवा भएका हुन् ।

डीएसपीमा बढुवा सिफारिस भएका १५८ औँ समूह भनेर चिनिने प्रहरी निरीक्षकहरू २०७० चैत ९ मा प्रहरीमा प्रवेश गरेका थिए । तर, खड्कासहित केही उम्मेदवार वैकल्पिक सूचीमा थिए । दरबन्दी रिक्त हुँदाहुँदै वैकल्पिकमा राखेको भन्दै उनीहरुले प्रहरी प्रधान कार्यालयविरुद्ध मुद्दा दायर गरे । मुद्दाबाट उनीहरू प्रहरीमा प्रवेश गरेका थिए । २०७४ मा तालिम गरेका खड्का प्रहरीमा प्रवेश गरेको ६ वर्ष भएको छ । तर, उनी १० वर्ष जागिर खाएकाहरूसँगै बढुवा सिफारिस भएका छन् । बढुवा प्रतिस्पर्धाको सूचीमा उनी ९३ औँ नम्बरमा थिए ।

आईजीपी वसन्त कुँवरले यसअघि कारबाहीमा परेकाहरूलाई बढुवा नगर्ने नीति लिए पनि सो नीति सहायक हवल्दार र वरिष्ठ हवल्दारको बढुवामा मात्र लागू भएको छ । अधिकृत बढुवामा आईजीपी आफैँले बनाएको नीति आफैँले लत्याएका छन् ।

कारबाहीमा परेका निरीक्षकहरुले पनि डीएसपी बढुवामा अवसर पाएका छन् । सिफारिस भएकामध्ये ऋषिराम घर्तीमगर, भिषणबावु राई र लक्ष्मण ओली कारबाहीमा परेका थिए । इलाका प्रहरी कार्यालय बुटवलमा निमित्त इन्चार्ज हुँदा थुनुवालाई होटलमा राखेको आरोपमा घर्तीमगरमाथि कारबाही भएको थियो ।
अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत भिषणबावु राई प्रहरी वृत्त दरबारमार्गमा बस्दा कारबाहीमा परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा वाकीटकी सेट फुटाएको आरोपमा लक्ष्मण ओली विभागीय कारबाहीमा परेका थिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) भएर काम गरेका निर्मल पनेरु १ नम्बरमा बढुवा सिफारिस भएका छन् । शक्ति केन्द्रमा पहुँच भएकाहरू बढुवा हुँदा काबिल भनेर चिनिएका पविन्द्रबहादुर बम, राजकुमार सिंह, चन्द्रबहादुर सिंह, योगराज खतिवडा, प्रवीण कार्की, वीरदत्त पन्त, मोहनजंग बुढथापा, गणेश सापकोटा, आशिष् अधिकारी र दिवसबहादुर जिसी लगायतका अधिकृतहरू बढुवामा छुटेका छन् ।

-रातोपाटीबाट