☰ open Loading... 30 April 2024|  

दुई स्कुटर एकआपसमा ठोकिँदा एकको मृत्यु, ३ घाइते
पश्चिम नेपाल   | २५ चैत्र २०८०, आईतवार २०:४८

उदयपुर सदरमुकाम गाईघाटमा दुई स्कुटर एकआपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शनिबार दिउँसो ३ः५० बजे त्रियुगा नगरपालिका-११ गाईघाट बजारस्थित आँखा अस्पताल नजिकै भएकाे दुर्घटनामा गम्भीर घाइते भएकी लीला खत्रीको उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार त्रियुगा नगरपालिका-१० बोक्सेबाट गाईघाटतर्फ आउँदै गरेको स ८ प ४३२९ नं. को स्कुटरलाई सोही दिशाबाट आएको प्र १–०५–००१ प ९४३३ नं. को अर्को स्कुटरले ओभरटेक गर्ने क्रममा ठक्कर दिई दुर्घटना हुँदा चार जना घाइते भएका थिए।

दुर्घटनामा परी टाउको र अनुहार भरी घाउचोट लागेर गम्भीर घाइते स ८ प ४३२९ स्कुटर चालक त्रियुगा नगरपालिका-१३ असारी ज्योति टोलकी ३८ वर्षीय खत्रीको मृत्यु भएको हाे।

घाइते खत्रीलाई सुरुमा जिल्ला अस्पताल उदयपुरमा राखेर उपचार गरे पनि सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो। त्यहाँ निको नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि आइतबार बिहान उनलाई जिल्ला अस्पताल उदयपुरमै ल्याइएको थियो।

उपचारकै क्रममा १०ः३० बजे अस्पतालले खत्रीलाई मृत घोषित गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए। मृतकको शव अस्पतालको शव गृहमा राखेर थप कानुनी प्रक्रिया अघि बढाइएको डिएसपी चौधरीले बताए।

स ८ प ४३२९ स्कुटरको पछाडि सवार त्रियुगा-१३ ज्योतीटोलकै ३२ वर्षीय कल्पना खत्रीको बायाँ गाला र दुवै हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल गाईघाटमै उपचार भइरहेको छ। ९४३३ नं. को स्कुटरको पछाडि सवार त्रियुगा-१० घले टोलका २५ वर्षीय निशान भुजेल सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ।