☰ open Loading... 25 February 2025|  

कर्णाली सहितका प्रदेशमा ३ दिनसम्म हावाहुरी र वर्षा हुने
पश्चिम नेपाल   | ४ बैशाख २०८१, मंगलवार ०६:३६

आगामी ३ दिनसम्मै देशका विभिन्न पहाडी भू–भागमा हावाहुरीसँगै वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।