☰ open Loading... 5 May 2024|  

बगरमा फल्न थाले खरवुजा र तरकारी
पश्चिम नेपाल   | १० बैशाख २०८१, सोमबार ०७:२५

राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन। तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन्।

कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरवुजा र तरकारी खेती लटरम्म छ। यही खेतीबाट स्थानीय किसानले अहिले मनग्य आम्दानी गर्न थालेका हुन्। यसरी आम्दानी गर्नेमध्ये एक हुन लमही नगरपालिका –४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी।

चौधरीले करिब दुई विघा बगरमा खरवुजा र केही जमिनमा भन्टा, लौका, करेला, वोडीलगायत बेमौसमी तरकारी खेती गरिरहेकी छिन्। बीस वर्षअघि राप्ती नदीको बाढीले उठिबास भएकी चौधरी सोही स्थानमा बगरखेती गरेर परिवारको गर्जो टारिरहेको बताउँछिन्। त्यस समय यही बगरले उठिबास पारेको थियो सम्झिने चौधरी अहिले भने खुसी छिन्।

‘बीस वर्षअघि राप्ती नदीको बाढीले घरबार, अन्नपात, गाईवस्तु बगाएर बिचल्लीमा पारेको थियो। अहिले भने त्यही ठाउँमा बगरखेती गरेर घरव्यवहार चलाइरहेका छौँ। त्यहीको आम्दानीले छ जनाको परिवारको लालनपालन, छोराछोरीको शिक्षादिक्षा मात्रै होइन थोरै भए पनि बचत गर्न सफल भएका छौँ’, चौधरीले भनिन्। विगत १० वर्षदेखि बगरखेतीमा लागेको बताउने चौधरीले सुरूका केही वर्ष खासै लाभ नभए पनि पछिल्ला छ वर्षयता राम्रो आग्दानी गरिरहेको बताउँछिन्। उनकाअनुसार एक मौसममा बगरखेतीबाट साढे तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।

‘बाढी पसेको दश वर्षसम्म त यहाँ बालुवा मात्रै थियो। पछि गाउँलेहरूले सल्लाह गरेर बगरखेती सुरू ग¥यौँ। अहिले बालुवा हेरेर पछुताउने अवस्था छैन’, चौधरीको भनाई छ,’बगरखेतीपछि मिहेनत गरेमा बगरमा पनि पैसा फलाउन सकिँदो रहेछ भन्ने सिकाई भएको छ।’

सनमाया मात्रै होइन जमिन बगरमा परिणत भएपछि घरखर्च चलाउन ज्यालामजदूरी गर्न बाध्य स्थानीय ३५ वर्षीया रीता चौधरीको पनि आम्दानीको प्रमुख स्रोत नै यही बगरखेती भएको छ। उनले पनि एक विघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेति गरेर एक मौषममा रु एक लाखदेखि डेढ लाखसम्म बचत गर्ने गरेको बताउँछिन्।

उनी भन्छिन्, ‘खेतीयोग्य जमिन बगर भएपछि सुरुमा निकै समस्या भयो। अरुकहाँ ज्याला मजदू्री गरेर जीविको चलाउने दिन पनि आए। तर बगरखेती गर्न थालेपछि भने आफैँ उद्यमी बनेका छौँ। अहिले यहीँ खेतीको आम्दानीबाट घरपरिवारको लालनपालन, छोराछोरी पढाउन र केही बचत गर्न पाउँदा सफल भएका छौँ।’ लमही नगरपालिका–४ की ३७ वर्षीया माया चौधरीले एक विघा जमिनमा खरवुजा र एक विघामा तरकारी खेती गरेर एकै मौसममा डेढ लाखसम्म आम्दानी हुने गरेको बताउँछिन्।

सनमाया, रीता र मायाजस्तै कुनै समय नदीले उठिबास लगाएपछि घरवास समस्यामा परेका यस ठाउँका करिब दुई सय किसानले बगरखेती गरेर जीविका चलाइरहेका छन्। त्यसले जीविकोपार्जनमा टेवा पुग्नुका साथै विगतको दुःख भुलाउन पनि सहज भएको छ।