☰ open Loading... 15 November 2024|  

ताइवान : एकैदिनमा ८० पटकभन्दा बढी भूकम्पका धक्का
पश्चिम नेपाल   | ११ बैशाख २०८१, मंगलवार १२:५४

ताइवानको पूर्वी तटीय क्षेत्रमा फेरि शक्तिशाली भूकम्प गएको छ । सोमबार रातिदेखि मंगलबार बिहानसम्म यहाँ ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ ।

यी मध्ये सबैभन्दा शक्तिशाली भूकम्प ६ दशमलव ३ तीव्रता मापन गरिएको थियो । यस भूकम्पले राजधानी ताइपेईका धेरै भवनहरू हल्लियो । भूकम्पको शक्तिशाली पराकम्पका कारण मानिसहरू निकै डराएका थिए । तर मानवीय क्षतिको कुनै खबर नआएको बताइएको छ ।

यस महिनाको सुरुमा पनि ताइवानमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसमा १३ जनाको मृत्यु भएको थियो भने १ हजारभन्दा बढी घाइते भएका थिए । उक्त भूकम्पको केन्द्रविन्दु ग्रामीण र हिमाली हुआलियन काउन्टीको तटीय क्षेत्रमा थियो । यो ताइवानमा पछिल्लो २५ वर्षमा सबैभन्दा शक्तिशाली भूकम्प थियो र त्यसपछि सयौँ परकम्पहरू आएका थिए ।

यस पटक पनि यी भूकम्पको केन्द्रबिन्दु ताइवानको ग्रामीण पूर्वी काउन्टी हुवालियन थियो । अप्रिल ३ को भूकम्पका कारण क्षतिग्रस्त भएको र अहिले सञ्चालनमा नआएको एउटा होटल थोरै ढल्किएको हुवालियनको दमकल विभागले मंगलबार बिहान भनेको छ ।

ताइवान दुई टेक्टोनिक प्लेटहरूको जंक्शन नजिकै छ । त्यसैले यहाँ प्रायः शक्तिशाली भूकम्पहरू गइरहन्छ । सन् २०१६ मा दक्षिणी ताइवानमा निकै शक्तिशाली भुकम्प आउँदा सय जना भन्दा बढी मानिसको ज्यान गएको थियो । सन् १९९९ मा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पमा २ हजार भन्दा मानिसहरूको ज्यान गएको थियो ।