☰ open Loading... 19 September 2024|  

वीरेन्द्रनगरका वडालाइ विदेशी भाषा पढाउने होडबाजी
पश्चिम नेपाल   | ३१ बैशाख २०८१, सोमबार २१:४०

वीरेन्द्रनगर नगरपालिकाका केही वडा कार्यालयहरुले जापानिज र कोरियन भाषा पढाउनका लागि होडबाजी चलाएको पाइएको छ । वडा कार्यालयको ५० प्रतिशत सहयोगमा भाषा पढाउने गरी सार्वजनिक विज्ञापन प्रकाशन गरेपछि वडा कार्यालयहरु आफै विवादमा तानिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १०, १३ र १६ नम्बर वडाले जापनिज, कोरियन, कम्प्यूटर, अंग्रेजी, आइएलटिएस, पीटीई र टोफेल भाषा अध्ययन गर्ने भन्दै १० दिने सार्वजनिक सूचना जारी गरेका छन् ।

१८ बैशाखमा वडा नम्बर १० को कार्यालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘उपर्युक्त सम्बन्धमा यस वडा कार्यालय र टेस्ला इन्ष्टिच्यूट प्रालि बिच भएको साझेदारी सम्झौता अनुसार यस १० नम्बर वडामा स्थायी बसोबास गर्ने विपन्न तथा गरिव जेहेनदार विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा अध्यापन गराईने व्यहोरा जानकारी गराउँदछौं ।’

जसमा कोरियन भाषा बेसिक/एडभान्स दश हजार, जापानिज भाषा अन्तर्गत अध्ययनका लागि पाँच हजार तथा रोजगारीका लागि २० हजार रकम वडाले व्यहोर्ने उल्लेख छ । यस्तै, बेसिक र डिप्लोमा कम्प्यूटर चार हजार पाँच सय, अंग्रेजी भाषा तीन हजार पाँच सय, आइएलटिएस, पीटीई र टोफेल भाषा कक्षाका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख छ ।

पछिल्लो समय युवाहरु रोजगारी तथा अध्ययनका लागि विदेशिने क्रम बढेका बेला यसलाई रोक्न स्वदेशमै आयमुलक कार्यक्रममा जोड दिनुको साटो सार्वजनिक रुपमै भाषा पढाउन गरिएको विज्ञापनले नकरात्मक सन्देश प्रवाह गर्न खोजेको सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । दीर्घकालिन पर्न सक्ने असरलाई ध्यानै नदिइ हचुवाका भरमा वडा कार्यालयहरु अघि बढ्नु सस्तो लोकप्रियता रहेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लेखेका छन् ।

भाषा परीक्षा पढाउने नाममा रकम खेर फाल्नु भन्दा कृषि, पशुपालन तथा लोकसेवा आयोगको तयारी लगायतका कार्यक्रममा जोडदिनु पर्ने उनीहरुको सुझाव छ ।

यता वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष डण्डबहादुर विश्कर्माले अध्ययन तथा रोजगारीका लागि जापान, कोरिया तथा अन्य मुलुक जान चाहने विपन्न वर्गका जहेन्दार विद्यार्थीलाई राहत होस् भन्ने हेतुले विज्ञापन गरिएको दावी गरे ।

-युगन्युजबाट